हिमाली आवाज । आसन्न प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको गण्डकी प्रदेशस्तरीय छनोट प्रतियोगिता आजदेखी पोखरामा सुरु भएको छ ।
गण्डकी प्रादेशिक क्रिकेट सङ्घको आयोजनामा पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा सञ्चालन भएको प्रतियोगिताको उद्घाटन खेलमा कास्कीले मुस्कान थापा र कप्तान विपिन खत्रीको अर्थशतकको मद्धतमा बाग्लुङलाई एक सय ५३ रनले पराजित गरेको छ ।
खेलमा कास्कीले टस जितेर ब्याटिङ रोजेकामा निर्धारित ५० ओभरको खेलमा नौ विकेट गुमाएर दुई ६८ रन बनायो । कास्कीका थापाले ७४,कप्तान खत्रीले ५० तथा रोहित चन्दले २९ रन बनाउनुभएको थियो ।
जितका लागि दुई सय ६९ रनको लक्ष्य पछ्याएको बाग्लुङले २४ ओभरको दोस्रो बलमा सबै विकेट गुमाउँदै जम्मा एक सय १५ रन मात्र जोड्न सफल भयो । बागल्ुङका रविन कार्कीले सर्वाधिक १५ रन बनाउनुभयो ।
कास्कीका कृष्ण पौडेलले सर्वाधिक तीन तथा आदित्य थापा र विपिन खत्रीले समान दुई÷दुई र विश्वास पराजुली, रोहित चन्द र विधान श्रेष्ठले समान एक÷एक विकेट लिनुभयो ।
यही पुस २५ गतेसम्म चल्ने प्रतियोगितामा कास्की, बागलुङ सहित स्याङ्जा, नवलपुर, तनहुँ र पर्वतले सहभागिता जनाएका छन् ।प्रादेशिक छनोट प्रतियोगिताको गण्डकी प्रदेशसभा सदस्य प्रकाश बरालले उद्घाटन गर्नुभएको थियो ।
सो अवसरमा क्रिकेट खेल विकास र पूर्वाधार निर्माणका लागि प्रदेश सरकारबाट बजेट विनियोजन गर्नका लागि आफूले पहल गर्ने उहाँले प्रतिवद्धता जनाउनुभयो ।
प्रतियोगिताबाट प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि गण्डकी प्रदेशको टोली छनोट गरिने गण्डकी प्रादेशिक क्रिकेट सङ्घका अध्यक्ष सञ्जयकान्त सिग्देलले जानकारी दिनुभयो ।
गण्डकी प्रदेशमा जिल्लास्तरीय छनोट प्रतियोगितापछि प्रादेशिक छनोट सञ्चालन गरिएको सिग्देलले बताउनुभयो ।