हिमाली आवाज । पर्यटकीय सहर पोखराको बजार क्षेत्र प्रवेशको मुख्यद्धार पृथ्वीचोकस्थित सेती नदी माथि निर्माण गर्न लागिएको ‘सिग्नेचर आर्च ब्रिज’को आज शिलान्यास गरिएको छ ।
पोखरा—मुग्लिन राजमार्ग सुधार आयोजना अन्तर्गत पृथ्वीराजमार्गमा निर्माण हुने पुलको भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री प्रकाश ज्वालाले एक कार्यक्रमकाबीच शिलान्यान्स गर्नुभएको हो ।
एसियाली विकास बैंङ्कको ऋण सहयोगमा सडक विभाग मार्फत बनाउन लागिएको पुलको लागत रु एक अर्ब सात करोड २४ लाख २६ हजार ५०० रहेको छ ।आगामी विसं २०८२ भदौ २३ गते सम्म निर्माण सम्पन्न हुनुपर्ने पुल निर्माणको ठेक्का रसुवा कन्स्ट्रक्सन कम्पनीले पाएको छ ।
सेती नदीमा हाल रहेको पुलको दुबैतर्फ थप दुई लेनका एक÷एक वटा पुल निर्माण गरिने मुग्लिन—पोखरा राजमार्ग सुधार आयोजना पश्चिम खण्डका आयोजना प्रमुख राजेश पौडेलले बताउनुभयो । पुल निर्माणपछि यसले पोखराको पर्यटनको अर्को गन्तव्य समेत बन्ने विश्वास लिइएको छ ।
पौडेलका अनुसार निर्माण हुने ‘सिग्नेचर आर्च’ पुल विशिष्ट खालको र आकर्षक हुनेछ । पौडेलले भन्नुभयो,“पुल निर्मापछि यातायात व्यवस्थापन सहित पोखराको पर्यटन विकासमा समेत मद्धत पुग्नेछ । यो पुल पोखराको सेल्फी ब्रिजका रुपमा विकास हुनेछ ।”
पृथ्वीचोकमा चार दशकअघि निर्माण गरिएको हालको पुल साँघुरो हुँदा यातायात व्यवस्थापनमा समस्या हुँदै आएको थियो । सडक अनुसार पुल साँघुरको हुँदा पृथ्वीचोकमा लामो समयसम्म जाम हुने समस्या पुल निर्माणपछि हट्ने विश्वास छ ।
सोही पुल हुँदै देशका विभिन्न गन्तव्यमा लामो तथा छोटो दूरीका यात्रुबाहक सवारी साधन तथा मालबाहक सवारी दैनिक ओहोरदोहोर गर्दै आएका छन् ।
एक सय ९० मिटरको उक्त पुल निर्माणमा कङ्क्रिट र फलामको प्रयोग हुने बताइन्छ । पुल निर्माणको प्रारम्भिक काम भने यसअघिनै सुरु भइसकेको छ ।
निर्माण कम्पनीका इन्जिनियर सुदर्शन देवकोटाले स्थानीयस्तरमा समस्या नआएको खण्डमा पुल तोकिएको मितिमै सम्पन्न हुने बताउनुभये ।उहाँले भन्नुभयो, “काममा कुनै बाधा आएन भने निर्धारित समयमै पुल बन्छ । निर्माण कम्पनीको तर्फबाट हामी प्रतिवद्धता गर्न चाहन्छौँ ।”
कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री ज्वालाले सेती नदी ऐतिहासिक र प्रकृतिको अनुपम उदाहरण रहेको बताउँदै आकर्षक पुल निर्माणले पोखरामा थप सौन्दर्य थप्ने बताउनुभयो ।
उहाँले पुल निर्माणमा स्थानीय र प्रदेश सरकारबाट निर्माण व्यवसायीलाई सहयोग हुने भएकाले समयमै सम्पन्न गरेर सम्मानको वातावरणका लागि समेत आग्रह गर्नुभयो । पुल र सडक निर्माणमा देखिएका समस्या समाधानमा मन्त्रालय प्रतिवद्ध रहेको मन्त्री ज्वालाको भनाई छ ।
मन्त्री ज्वालाले भन्नुभयो,“सडक र पुल निर्माणमा हामीले समय, भुक्तानी र डेलिभरी हरेक कुरामा ढिलाई गरेका छौँ । सेती पुल निर्माणमा ढिलाई हुुनेछैन । ”
गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री रेशमबहादुर जुग्जालीले पोखरा मुग्लिन राजमार्ग विस्तारमा ढिलाई हुँदा प्रदेश सरकारसमक्ष दैनिक गुनासा आएको बताउनुभयो ।उहाँले मध्यपहाडी लोकमार्गको विभिन्न स्थानमा सडक रेखांकन बिवाद रहेकाले सोको समाधानका लागि आग्रह गर्नुभयो ।
प्रतिनिधिसभा सदस्य विद्या भट्राईले तीनै तहका सरकारको समन्वय र सहकार्यबाट विकासका काम अघि बढाउनुपर्नेमा जोड दिनुभयो । पोखरा महानगरका प्रमुख धनराज आचार्यले पुल निर्माणका क्रममा स्थानीय अवरोध र समस्या आउन नदिने प्रतिवद्धता जनाउनुभयो ।