हिमाली आवाज । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले पूर्व अध्यक्ष मोहन घलेको स्वागतमा बिहीबार एक कार्यक्रमको आयोजना गरेको छ । विगत केही वर्षदेखि जापानमा बस्दै आएका घलेलाई पोखरा आएको मौका पारेर मञ्च गण्डकीले स्वागत गरेको हो ।
पोखरा रंगशालाको मिडिया सेन्टरमा आयोजित स्वागत कार्यक्रममा बोल्दै पूर्व अध्यक्ष घलेले मञ्चले गरिरहेका गतिविधिको प्रशसा गर्नुभयो । उहाँले मञ्च स्थापनादेखि आफ्नो कार्यकाल पूरा गर्दाका दिन स्मरण गर्दै मञ्चले गरिरहेका कार्यक्रमका कारण यसको गरिमा बढ्दै गएको बताउनुभयो ।मञ्चले आयोजना गर्ने आठौं संस्करणको पोखरा स्पोर्ट्स अवार्डमा यथाशक्य सहयोग गर्ने वाचा उहाँले गर्नुभयो ।
खेल पत्रकारको क्षमता अभिवृद्धिको लागि नेपालका विभिन्न ठाउँमा रहेका एकेडेमीहरुको अवलोकन भ्रमण गर्न नेपाल पत्रकार महासंघ जापानका पूर्व अध्यक्ष समेत रहनुभएका घलेले सुझाव दिनुभयो ।
मञ्चका अध्यक्ष दीननाथ बरालको अध्यक्षतामा भएको कार्यक्रममा निवर्तमान अध्यक्ष एकराज गिरी, पूर्व सल्लाहकार सुदर्शन रन्जित, उपाध्यक्ष सुरज श्रेष्ठ, महासचिव राजाराम पौडेल, सचिव शशीकुमार पौडेल र सदस्य उमेश पुनले नेपाल खेलकुद पत्रकार मञ्चले गर्दै आएका कार्यक्रम सहित आगामी योजनाको बारेमा समेत अवगत गराउनुभयो ।
यसैबिच यहीं कार्तिक १५ गते पोखरामा आयोजना गरिने मञ्च गण्डकीको साधारण सभा तथा विधान अधिवेशनको तयारी समेत अन्तिम चरणमा पुगेको महासचिव पौडेलले जाजनकारी दिनुभयो । मञ्च गण्डकीमा खेलकुद बिटमा काम गर्ने पोखराका ७४ जना पत्रकार आवद्ध छन् ।