हिमाली आवाज । रोजगार अनुमति प्रणाली(इपिएस) मार्फत दक्षिण कोरिया गएर फर्किएकाहरुको पोखरामा तथ्याङ्क संकलन गरिने भएको छ ।
नेपालमा सहयोग गर्दै आएको कोरियाली गैरसरकारी संस्था(कोइका)ले अंकुर नेपालसँगको सहकार्यमा यही कात्तिक १२ गते पोखरामा डाटा संकलन गर्न लागेको हो । अंकुर नेपाल कोरियाबाट फर्किएका नेपालीहरुको संस्था हो ।
कार्यक्रम विहान ८ बजेदेखी साँझ ६ बजेसम्म न्यूरोडस्थित होटल दीपसागरमा हुने अंकुर नेपालको पोखरा शाखाका प्रमुख हितकाजी गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार कोरियाबाट फर्केका नेपालीहरुको बर्तमान अवस्थाका बारेमा जानकारी लिने र उनीहरुको पुनःस्थापनामा सहयोग गर्ने उद्धेश्यले सर्भेक्षण गर्न लागिएको हो ।
गुरुङले भन्नुभयो,“यो डाटा सर्भेक्षण कुनै नाफामूलक काम होइन । इपिएस कार्यक्रममा कोरिया गएर फर्केकाहरुको अहिले कस्तो अवस्थामा छन् भनेर कोरिया सरकार र नेपाल सरकारबीचको सहकार्यबाट देशभर डाटा संकलन गर्न लागिएको हो । ”
रिर्टनीहरुको स्थायी पुनःस्थापनाका लागि सहायता सुदृढीकरण परियोजना अन्तर्गत पहिलो चरणको कार्यक्रम सुरु भएको बताइन्छ । यस कार्यक्रमको प्रोजेक्ट म्यानेजर कुनजुङ चोइ(कोपिला गुरुङ)रहनुभएको छ ।