गण्डकीका ११ वटै जिल्लामा समाजवादी मोर्चाले सन्देशसभा गर्ने

हिमाली आवाज । समाजवादी मोर्चाले गण्डकी प्रदेशका ११ वटै जिल्लामा सन्देशसभा गर्ने निर्णय गरेको छ ।

मोर्चाको गण्डकी प्रदेश संयोजन समितिको सोमबार पोखरामा बसेको बैठकले मोर्चामा रहेका चार दलका दुई÷दुई जनाको प्रतिनिधित्व हुने गरी असोज महिनाभित्रमा जिल्ला संयोजन समिति गठन गरी जिल्लाको सापेक्षतामा सन्देशसभाहरु गर्ने निर्णय गरेको हो ।

समाजवादी मोर्चामा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र), नेकपा(एकीकृत समाजवादी) जनता समाजवादी पार्टी र नेपाल कम्युनिष्ट पार्टी रहेका छन् ।

जिल्लास्तरीय सन्देशसभाको व्यवस्थापनका लागि गोरखा, स्याङ्जा,म्याग्दी र मनाङको जिम्मेवारी नेकपा(माओवादी केन्द्र)लाई दिइएको छ ।
यसैगरी कास्की, मुस्ताङ र पर्वत एकीकृत समावादी, नवलपुर र लमजुङ जनता समाजवादी पार्टी तथा बाग्लुङ र तनहुँ जिल्लाको सन्देशसभा व्यवस्थापनको जिम्मेवारी नेपाल कम्युनिष्ट पार्टीलाई तोकिएको मोर्चाका प्रदेश संयोजक एवं नेकपा(माओवादी केन्द्र) गण्डकी प्रदेशका अध्यक्ष गायत्री गुरुङले बताउनुभयो ।

उहाँका अनुसार बैठकले मोर्चाका शीर्ष नेताहरुको उपस्थितिमा गत भदौ १५ गते पोखरामा आयोजना गरिएको प्रदेशस्तरीय सन्देशसभाको समिक्षा लगायतका विषयमा छलफल गरिएको छ ।

सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र सुदृढीकरण गर्दै नेपाली समाजवादका मौलिक विशेषताहरुको पहिचान गरी समाजवादको नेपाली बाटो तय गर्ने प्रतिबद्धताका साथ समाजवादी मोर्चा स्थापना भएको गुरुङले बताउनुभयो ।

संयोजक गुरुङले भन्नुभयो,“सङ्घीयता, लोकतान्त्रिक गणतन्त्र, सुशासन, आर्थिक समृद्धि र सामाजिक न्याय सहितको नेपाली विशेषताको समाजवाद स्थापना गर्ने मूल उद्देश्यले मोर्चा गठन गरिएको हो । मोर्चालाई प्रदेशहुँदै जिल्ला तथा स्थानीयतहसम्म विस्तार गछौँ । सरकारले गरिरहेका कामहरुका बारेमा जनतालाई प्रशिक्षित गर्ने र जनताबाट सुझाव लिने काम गरिरहेका छौँ । ”

बैठकले इजरायलको गाजना क्षेत्रमा भएको द्धन्द्धमा परी नेपाली विद्यार्थीहरुको निधन भएकामा दुःख व्यक्त गरेको छ । साथै विद्रोहीहरुको आक्रमणमा घाइते, बेपत्ता भएका र युद्धग्रष्त क्षेत्रमा अप्ठ्यारो अवस्थामा परेका नेपालीहरुको शीघ्र उद्धार र राहतका लागि नेपाल सरकासँग माग समेत गरेको छ ।

मोर्चाको गण्डकी प्रदेश समितिमा नेकपा माओवादी केन्द्रबाट गण्डकी प्रदेश अध्यक्ष गायत्री गुरुङ सहित ज्ञानमान गैरे र जगन्नाथ खनाल सदस्य हुनुहुन्छ ।

नेकपा एकीकृत समाजवादीबाट केशवलाल श्रेष्ठ, श्रीनाथ बराल र प्रतापलाल श्रेष्ठ, जनता समाजवादी पार्टीबाट गोपाल गुरुङ, निर्मल जिसी र रमेश नेपाली मोर्चामा रहनुभएको छ ।

यसैगरी विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीबाट राजन सी, दिपा सी र काजी सी रहनुभएको छ । मोर्चा समितिको अध्यक्षता आलोपालो प्रणाली अन्तर्गत हाललाई माओवादी केन्द्रका प्रदेश अध्यक्ष गुरुङले गर्नुभएको छ ।

Comments
Loading...