हिमाली आवाज । रेबिज सप्ताहका अवसरमा पोखरामा छाडा छोडिएका दुई सय ७६ कुकुरको बन्ध्याकरण गरिएको छ । विश्व रेबिज दिवस हरेक वर्ष सेप्टेम्बर २८ तारिखका दिन मनाइन्छ । पोखरामा असोज ११ देखी १७ गतेसम्म रेबिज सप्ताह मनाइएको हो ।
सप्ताहमा दुई हजार आठ सय १७ कुकुरलाई रेविज विरुद्धको खोप दिइएको नेपाल भेटेरिनरी एशोसिएसन गण्डकीका अध्यक्ष डा राजेश कुमार चौधरीले जानकारी दिनुभयो ।
रेबिज रोग विरुद्ध खोप, कुकुरको बन्ध्याकरण, रोगको रोकथाम अनि यसबाट बच्न अपनाइने सुरक्षाका उपायहरूका बारेमा विभिन्न जनचेतनामुलक कार्यक्रमहरु गरिएको हो ।खोपका लागि १३ टोली परिचालन गरिएको थियो । जसमा १३ भेटेरिनरी डाक्टर र ५२ जना पशु स्वास्थ्य प्राविधिक सहभागी भएको एशोसिएसनले जनाएको छ ।
गण्डकी प्रदेशको पशुपन्क्षी तथा मत्स्य विकास निर्देशनालय, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कास्की, पोखरा महानगरपालिका पशु सेवा शाखा, नेपाल भेटेरिनरी एशोसिएन गण्डकी र खाद्य तथा कृषि संगठनको आयोजनामा सप्ताहव्यापी कार्यक्रम सहित रेबिज सप्ताह मनाइएको थियो । बुधबार रेविज सप्ताहको समापन तथा विश्व पशुपन्क्षी दिवसका सन्दर्भमा अन्तरक्रिया गरिएको थियो ।
“रेबिज भाइरसबाट मानिस तथा अन्य स्तनधारी पशुहरू लाग्ने एउटा प्राणघातक रोग हो। यो रोग लागेका कुकुर तथा बिरालो जातिका घरपालुवा वा जङ्गली जनावरको टोकाइबाट मानिस लगायत अन्य स्तनधारी जनावरहरूमा सर्ने गर्दछ ।” डा चौधरीले भन्नुभयो,“सप्ताहमा विशेषगरी जनचेतनामुलक कार्यक्रम सहित कुकुरको बन्ध्याकरण र रेबिज विरुद्ध खोप दिएर सम्पन्न गरेका छौँ ।”
पोखरा पर्यटकीय सहर समेत भएकाले यहाँ आउने स्वदेशी तथा विदेशी पर्यटकहरुलाई रेबिज सङ्क्रमणको जोखिम हुँदैन भनेर सन्देश दिनु समेत आवश्यक भएको चौधरीले बताउनुभयो ।
नेपालमा वर्षेनि एक सय वा सोभन्दा बढी मानिसको मृत्यु रेबिजका कारण हुने डा चौधरीले बताउनुभयो । त्यसैगरी करिब पाँच सय पशुधनको मृत्यु रेबिज रोगको कारणबाट हुने बताइन्छ । रेबिजबाट हुने मृत्यु मध्येमा ९५ प्रतिशत मृत्यु कुकुरको टोकाइबाट हुने गरेको तथ्याङ्क छ ।
यसैगरी विद्यालय सचेतना कार्यक्रम अन्तर्गत ३१ विद्यालयका दुई हजार एक सय २० जना विद्यार्थीलाई रेविजबाट हुने सङ्क्रमण सम्भावना, स्वास्थ्य सुरक्षा तथा सेवाहरु, उपचारात्मक र निरोधात्मक विधि सम्बन्धमा जानकारी प्रदान गरिएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कास्कीका प्रमुख शम्भुराज पाण्डेले बताउनुभयो ।
नेपाल सरकारले सन् २०३० सम्म रेविज केस शुन्यमा झार्ने लक्ष्य राखेको छ ।रेविज सप्ताह समापनमा गण्डकी प्रदेशका सभामुख कृष्णप्रसाद धितालले रेबिज विरुद्ध खोप कार्यक्रमलाई प्रभावकारी बनाउनुपर्ने बताउनुभयो । उहाँले सचेतनाका कार्यक्रमहरु वर्षभरीनै जारी राख्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
कर्यक्रममा कृषि तथा भूमि व्यवस्था मन्त्रालयका सचिव सहदेव प्रसाद हुमागाई, पशुपन्छी विकास मन्त्रालयका महानिर्देशक डा बालकुमार श्रेष्ठ, पशु सेवा तालिम केन्द्रका प्रमुख डा गृष्म न्यौपाने, पोखरा महानगर आर्थिक विकास महाशाखा प्रमुख मनोहरप्रसाद कडरिया, नेपाल भेटेरिनरी एशोसिएसनका केन्द्रीय उपाध्यक्ष डा अशेष भट्टराई लगायतले रेविज सप्ताह र पशुपन्छी दिवसका सन्दर्भमा भनाई राख्नुभयो ।
कार्यक्रममा अवसरमा लप्पीस्किन रोग विरुद्ध जनचेतनामुलक भिडियो सामग्री बनाउने पशु प्राविधिक अमृत सुनारलाई रु १० हजार सहित सम्मान गरिएको थियो ।