हिमाली आवाज । पोखराको लामाचौरमा नेपाली नारीहरुको महान् पर्व हरितालिका तीजका अवसरमा २५ औँ संस्करणको तिज महोत्सव सहित राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिता हुने भएको छ ।
नव आदर्श सामुदायिक विकास समाज (नाकोड्स) को आयोजनामा संस्थाको २७ औं वार्षिक उत्सवका अवसरमा लामाचौरको इन्द्रराज्यलक्ष्मी माविको खेल मैदानमा भदौ ३० देखी असोज १ गतेसम्म महोत्सव गर्न लागिएको आज पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
“मौलिक संस्कृतिको जगेर्ना गरौँ” भन्ने नारा सहित आयोजित महोत्सवको मुख्य आकर्षण राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिता रहेको छ ।
राष्ट्रिय भलिबलमा महिलातर्फ चार र पुरुषतर्फ पाँच टोलीको सहभागिता निश्चित भएको समाजका अध्यक्ष स्वागतसिंह भण्डारीले बताउनुभयो ।
महिला राष्ट्रिय भलिबलतर्फ विभागीय सशस्त्र प्रहरी बलको एपिएफ क्लब, नेपाल पुलिस क्लब, न्यु डायमण्ड युथ स्पोर्टस् क्लब र न्यु एभरेष्ट भलिबल क्लब बुटवलले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।
यसैगरी पुरुषतर्फ मणिमुकुन्द भलिबल क्लब बुटवल, सशस्त्र प्रहरी बल, नेपाल पुलिस क्लब, गलकोट स्पोर्टस् क्लब बागलुङ र गण्डकी प्रदेशको टिमबीच प्रतिस्पर्धा हुनेछ । विभागिय टोली त्रिभुवन आर्मी क्लवको पुरुष तथा महिला दुबै टिमको सहभागिता प्रतियोगितामा नहुने आयोजकले जनाएको हो ।
नेपाल आर्मी क्लबका केही पुरुषतर्फ खेलाडीहरु १९ औं एसियाली खेलकुदका लागि राष्ट्रिय टिममा समावेश भएका कारण सहभागी नहुने बताइन्छ । त्यसगरी महिला टोलीले समेत अन्तिम समयमा सहभागिता नजनाउने भन्दै पत्राचार गरेको अध्यक्ष भण्डारीले बताउनुभयो ।
भलिबल प्रतियोगितामा महिला र पुरुषतर्फ उपाधि विजेता, उपविजेता र तृतीय हुने टिमले क्रमश नगद रु एक लाख ५० हजार एक सय ११, एक लाख एक सय ११ र रु ५० हजार एक सय ११साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यस्तै उत्कृष्ट विद्यागततर्फ समेत नगद पुरस्कार वितरण गरिने समाजले जनाएको छ ।
महोत्सवमा अन्तर विद्यालयस्तरीय लोकनृत्य प्रतियोगिता, अन्तरमहिला समूहगत खुला तीज गीत प्रतियोगिता पनि महोत्सवको अर्को आकर्षण हुन् । तीज गीत प्रतियोगितामा प्रथमलाई रु ५० हजार, दोस्रोलाई रु ३० हजार, तृतीयलाई रु २० हजार र सान्त्वनालाई रु १० हजार र सहभागी टिमलाई प्रोत्साहन वापत रु दुई हजार व्यवस्था गरिने आोजकले जनाएको छ ।
अन्तरविद्यालयस्तरीय लोक नृत्यमा प्रथम, द्धितीय र तृतीय हुने टोलीलाई क्रमश ःरु ४० हजार, रु २५ हजार रु १५ हजार र रु पाँच हजार पुरस्कार प्रदान गरिने समाजनका प्रथम उपाध्यक्ष तथा सूचना तथा प्रचार प्रसार उपसमिति संयोजक दिनेश भण्डारीले जानकारी दिनुभयो ।
महोत्सव सम्पन्न गर्न रु ५२ लाख ७७ हजार पाँस सय खर्च लाग्ने अनुमान गरिएको छ । महोत्सवबाट खर्च घटाइ बाँकी रकम आकस्मिक सेवा तथा तीज महोत्सव सञ्चालन कोष वृद्धिका लागि थप गरिने बताइएको छ ।
महोत्सवमा प्रवेश निशुल्क हुनेछ तर भलिबल हेर्न टिकट व्यवस्था गरिएको साथै भलिबल हेर्न चार हजार सिट क्षमताको अस्थायी प्यारापिट निर्माण गरिएको छ ।