हिमाली आवाज । कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिका—१ टुसेमा २८ औँ संस्करणको ऐतिहासिक तीज मेला—२०८० हुने भएको छ ।
“हरेक वर्ष तीजको बेला,जाउँ है ऐतिहासिक माछापुच्छ्रे तीज मेला”को नारा सहित स्थानीय माछापुच्छ्रे गुराँसे भुमे युवा क्लबको आयोजनामा आगामी असोज १ देखी ५ गतेसम्म तीज मेला हुन लागेको हो ।
मेलामा गाउँस्तरीय पुरुष भलिबल,क्लबस्तरीय महिला भलिबल,पुरुष भेट्रान्स भलिबल,अन्तर विद्यालय नृत्य प्रतियोगिता,घैँटो फुटाई,महिला रस्साकस्सी,बालबालिकाका लागि तातो आलु प्रतियोगिता हुुनेछन् । त्यसैगरी मेलाको आकर्षणमा मकै अनुमान, मौलिक झाँकी,लोक तथा दोहोरी गीत प्रतियोगिता र विविध सांस्कृतिक कार्यक्रम रहेको आयोजक संस्था माछापुच्छ्रे गुराँसे युवा क्लबका अध्यक्ष अमृत गुरुङले बताउनुभयो ।
गाउँस्तरीय पुरुष भलिबल प्रतियोगिताको विजेताले रु ७० हजार तथा उपविजेताले रु ४० हजार पुरस्कार पाउने आयोजकले जनाएको छ । त्यसैगरी क्लबस्तरीय महिला भलिबलको विजेताले रु ३० हजार र द्धितीयले रु २० हजार र अन्तरविद्यालय नृत्यमा प्रथम हुनेले रु १५ हजार, द्धितीयले रु १० हजार र तृतीयले रु पाँच हजार पुरस्कार पाउनेछन ।
माछापुच्छ्रे गुराँसे भुमे युवा क्लबका सल्लाहकार सरोजकुमार गुरुङले यहाँको तीज मेला ऐतिहासिक रहेको बताउनुभयो । विसं २०५० देखी निरन्तररुपमा आयोजना भएकाले यसले माछापुच्छ्रेको प्रवद्र्धनसँगै खेलकुदको माध्यमबाट युवाहरुबीच भाइचारा र खेल संस्कृतिको विकास गरेको उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो,“महिलाहरुको महान् पर्वको अवसरमा तीज मेला आयोजना गरेका छौँ । यो मेला माछापुच्छ्रकै ऐतिहासिक मेलामा रुपमा स्थापित भइरहेको छ । मेलाबाट राष्ट्यि तथा अन्तर्राष्ट्यि क्षेत्रसम्म यस ठाउँको प्रचारप्रसारमा सघाउ पुगेको छ ।”