सातौँ पोखरा स्पोर्टस् अवार्डबाट एक लाख ११ हजार बचत

हिमाली आवाज । सातौं पोखरा स्पोर्ट्स अवार्ड २०७९ को आय व्यय सार्वजनिक गरिएको छ । आयोजक नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले एक कार्यक्रमको आयोजना गरेर आय व्यय सार्वजनिक गरेको हो ।

अर्वाड कार्यक्रमको लागि २६ लाख ९९ हजार १२ रुपैयाँ आम्दानी भएकोमा २५ लाख ८७ हजार २ सय ५५ रुपैयाँ खर्च गरेर १ लाख ११ हजार ७ सय ५७ रुपैयाँ बचत भएको मञ्चका अध्यक्ष दीननाथ बरालले जानकारी दिनुभयो । कोषाध्यक्ष कविता घर्ती मगरले पेश गरेको आय व्यय विवरण सुझाब सहित पारित गरिएको हो ।

मञ्चको पाँचौ स्थापना दिवसको अवसरमा आयोजित सो कार्यक्रममा सातौं संस्करणको स्पोर्ट्स अवार्डको समीक्षा समेत गरियो । अवार्ड कार्यक्रमलाई आगामी दिनमा थप परिस्कृत र परिमार्जित गर्दै लैजानुपर्नेमा सहभागीले जोड दिए । मञ्चका निवर्तमान अध्यक्ष एकराज गिरी, सल्लाहकार रञ्जन अधिकारी क्षेत्री, निवर्तमान महासचिव बिजय नेपाल, सदस्यहरू रोहितराज पराजुली, दीपक परियार, विजय नेपाली लगायतले पोखरा स्पोट्र्स अवार्डसँगै मञ्चले गर्ने विभिन्न गतिविधिका सम्बन्धमा महत्वपूर्ण सुझाव दिनुभयो ।

मञ्च अध्यक्ष दीननाथ बरालको अध्यक्षतामा कालावाङ घरेडी सामुदायिक होमस्टेमा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सरिता तिम्सिना पंगेनी, संस्थापक अध्यक्ष रामकृष्ण ज्ञवाली, उपाध्यक्ष सुरज श्रेष्ठ र महासचिव राजाराम पौडेलले मञ्चको स्थापना दिवस र सातौं पोखरा स्पोर्ट्स अवार्डका सम्बन्धमा भनाई राख्नुभयो ।

सातौं सस्करणको पोखरा स्पोर्ट्स अवार्ड गत बैशाख २३ गते शनिबार पोखरा सभागृह हलमा आयोजना भएको थियो । अवार्ड अन्तरगतको वर्ष उत्कृष्ट खेलाडी पुरुष तर्फको पुरस्कार क्रिकेटका करण केसी र वर्ष उत्कृष्ट खेलाडी महिलातर्फको पुरस्कार फुटबलकी सावित्रा भण्डारीले हात पार्नुभएको थियो ।

अवार्ड अन्र्तगत उदीयमान खेलाडीतर्फ क्रिकेटका सुवास भण्डारी र वर्ष उत्कृष्ट प्रशिक्षक तर्फ आर्चरीका किशोर कुमार गुरुङ, लाइफटाइम अचिभमेन्ट अवार्ड बक्सिङ प्रशिक्षक विद्या प्रसाद मर्सानी, वर्ष उत्कृष्ट खेल संस्था वा क्लबतर्फको अवार्ड कास्की जिल्ला ह्यान्डबलसंघ र वर्ष उत्कृष्ट खेल पत्रकारको अवार्ड सागरराज तिमिल्सिनालाई प्रदान गरिएको थियो ।

यसैगरी नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताकै क्रममा दुर्घटनामा परी गत असोज ३० गते निधन भएका प्याराग्लाइडिङ खेलाडी निसिम थापाको योगदानको कदर गर्दै कीर्तिशेष सम्मान गरिएको थियो । मञ्च सम्पूर्ण खेलकुद पत्रकारको साझा संस्था हो ।  २०५७ सालमा खेलकुद पत्रकार मञ्च कास्कीका रुपमा स्थापना भएको थियो । देश संघीयतामा गएसँगै २०७५ सालमा नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी प्रदेशका रुपमा स्तोरोन्नति गर्दै स्वायत्त संस्थाको रुपमा विकास गरिएको छ । हाल ७४ जना पत्रकार मञ्चमा आवद्ध छन् ।

Comments
Loading...