गण्डकी प्रदेश स्तरीय महिला भलिबलको उपाधि म्याग्दीले जित्यो

हिमाली आवाज । गण्डकी प्रदेश स्तरीय महिला भलिबल प्रतियोगिताको उपाधि म्याग्दीले जितेको छ ।

पोखरामा सञ्चालन भएको प्रतियोगिताको आज भएको फाइनलमा पर्वतलाई ३—२ सेटले पछि पार्दै म्याग्दी च्याम्पियन बनेको हो ।
उपाधि विजेता म्याग्दीले ट्रफी सहित रु एक लाख पुरस्कार प्राप्त गर्दा उपविजेता पर्वतले रु ७० हजार पुरस्कार पायो ।

म्याग्दीले पर्वतलाई पहिलो, चौथो र पाँचौ सेटमा क्रमश ः २५–१६, २५–१७ र १५–११ को अन्तरले पराजित गरेको हो ।
दोस्रो र तेस्रो सेटमा पर्वतसँग म्याग्दी २५–२१ र २५–१७ को अन्तरले पराजित भएको थियो ।

फाइनल खेलमा रोचक प्रतिस्पर्धा भएको थियो । पर्वतकी पुजा ठकुरीले उत्कृष्ट खेलाडीको उपाधि पाउनुभयो । म्याग्दीका टिम क्याप्टेन पवित्रा सिर्पालीले वेष्ट स्पाईक र रेविना घर्तिले वेष्ट सेटरको उपाधि जित्न सफल हुनुभयो ।

गण्डकी प्रदेश खेलकुद परिषद्को आयोजनामा यही असार १४ गतेदेखि शुरु भएको प्रतियोगितामा गण्डकी प्रदेशका ११ वटा जिल्लाको सहभागिता थियो । प्रतियोगिताले गण्डकी प्रदेशमा महिला खेलाडी उत्पादनमा जोड दिने लक्ष्य राखिएको छ ।

बिजयी खेलाडीहरुलाई गण्डकी प्रदेशका सामाजिक तथा स्वास्थ्य मन्त्री शुशिला सिम्खडा, भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशम बहादुर जुग्जाली (सुविन) लगायतले पुरस्कार वितरण गर्नुभएको थियो ।

Comments
Loading...