हिमाली आवाज । युवा तथा खेलकुदमन्त्री डिग बहादुर लिम्बुले खेलाडीको भविष्य सुनिश्चित हुने गरी सरकारले कार्यक्रम ल्याउने बताउनुभएको छ ।
राष्ट्रिय तथा अन्तर्राष्ट्यि प्रतियोगिताहरुमा सहभागी भएर देशको नाम राख्ने खेलाडीहरुको खेल पछिको जीवन सरल र सहज हुने गरी सरकारले कानुनी व्यवस्था गर्ने उहाँले स्पष्ट पार्नुभयो ।
पोखरा रङ्गशालामा आजदेखी सुरु भएको तेस्रो प्रदेशस्तरीय आइटिएफ तेक्वान्दो प्रतियोगिताको उद्घाटन गर्दै उहाँले नेपाली खेलकुदको विकास गर्न खेलकुदमा लाग्ने खेलाडीहरुको भविश्य सुनिश्चित पार्ने कानून ल्याउने तयारी सरकारले गरिरहेको जानकारी दिनुभयो ।
नेपालको खेलकुद क्षेत्रको विकासका लागि निजी क्षेत्रको समेत साथ आवश्यक रहेको उहाँले बताउनुभयो । खेलकुदमा नीजि क्षेत्रको लगानी सुनिश्चित गर्दै खेलकुदमा लागेका अभिभावकहरुलाई समेत सम्मानित हुने वातावरण सरकारले बनाउने मन्त्री लिम्बुको भनाई छ ।
खेलकुदका संरचनाहरुलाई सङ्घीयता अनुसार विकास गरिने उहाँले स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो,“ देशमा सङ्घीय शासन व्यवस्था सुरु भएको पाँच वर्ष पूरा भइसकेको छ । अब पनि पूरानै संरचनामा बसेर नेपालको खेलकुदको विकास हुन सक्दैन, यसको परिवर्तन गर्नु आवश्यक छ ।”
प्रदेश र जिल्लाका विगतका खेलकुदका कार्यालय तथा संरचनाहरुलाई संघीयताअनुसार परिर्वतन गर्नुपर्नेमा मन्त्री लिम्बुले जोड दिनुभयो ।
प्रतियोगितामा गण्डकी प्रदेशका सात जिल्लाका तीन सय भन्दा बढि खेलाडीहरुको सहभागिता रहेको आइटिएफ तेक्वान्दो संघ गण्डकीका अध्यक्ष घम बहादुर थापाले जानकारी दिनुभयो ।
प्रतियोगितामा कास्की, बागलुङ, पर्वत, म्याग्दी, नवलपुर, स्याङजा र तनहुँका महिला तथा पुरुष खेलाडीहरुको सहभागिता छ । प्रतियोगितामा २८ स्वर्ण, २८ रजत र ३२ कास्य पदकका लागि प्रतिस्पर्धा हुने गण्डकीका उपाध्यक्ष तथा रेफ्रि अफिसियल संयोजक आकाशचन्द्र घर्तीमगर जानकारी दिनुभयो ।
खेलाडीहरुबीच एकल काता स्पाइरिङ, तथा एकल प्याट्रनमा प्रतिस्पर्धा हुनेछ । जसमा स्पाइरिङतर्फ ४५ देखि ८५ केजी तौल सम्म तथा महिलातर्फ ४० देखि ७० केजी सम्म प्रतिस्पर्धा गराइने भएको छ ।