पोखरामा राष्ट्रिय आर्चरी च्याम्पियनसीप सुरु

हिमाली आवाज ।  पोखरा रङ्गशालाको आर्चरी खेल मैदानमा सोमबारदेखी ११ औँ संस्करणको राष्ट्रिय आर्चरी च्याम्पियनसिप—२०८० सुरु भएको छ ।

‘स्वास्थ्यका लागि खेलकुद,राष्ट्रका लागि खेलकुद’को नारा सहित नेपाल आर्चरी सङ्घले आयोजना गरेको प्रतियोगिताबाट आर्चरी खेल विकास र देशका लागि आवश्यक राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका खेलाडी उत्पादनको लक्ष्य राखिएको छ ।

यही वैैशाख २९ गते सम्म सञ्चालन हुने प्रतियोगितामा तीन विभागीय र पाँच प्रदेशका खेलाडीहरुको सहभागिता रहेको छ । नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी सहित गण्डकी, कोशी, मधेश र सुदुर पश्चिम प्रदेशका कुल ६२ खेलाडीहरुको सहभागिता रहेको नेपाल आर्चरी सङ्घका अध्यक्ष दीपकराज गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार प्रतियोगितामा २२ महिला र ४० पुरुष खेलाडीहरुले विभिन्न विधामा उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगितामा व्यक्तिगत र टीम इभेन्टमा छुट्टाछुट्टै प्रतिस्पर्धा हुनेछ ।

व्यक्तिगततर्फ रिकर्भ, कम्पाउण्ड र स्टाण्डर्डतर्फ महिला तथा पुरुष, रिकर्भ टिम इभेन्ट र मिक्स इभेन्ट तथा स्टाण्डर्डतर्फ मिक्स टिम इभेन्टमा प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा स्वर्ण नौ, रजत नौ र कास्य नौ गरी कुल २७ पदकका लागि प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताको गण्डकी प्रदेशसभा सदस्य प्रकाश बरालले उद्घाटन गर्नुभयो ।

खेलाडीको हित र खेलकुद विकासका लागि तीनै तहका सरकारले योजना बनाउनुपर्ने उहाँले बताउनुभयो । बरालले भन्नुभयो,“खेलकुदका पूर्वाधार छन्, खेलाडी पनि छन् तर खेलकुद विकासको योजना छैन ।यसका बारेमा सबै गम्भीर भएर खेलाडी र खेलकुद विकासको योजना बनाउनु आवश्यक छ ।” आर्चरी सङ्घका वरिष्ठ उपाध्यक्ष वसन्त थकालीले आर्चरी खेलले छोटो समयमा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा उपलव्धी हासिल गरेको बताउनुभयो ।उहाँले आर्चरी खेलका पूर्वाधार पोखरा बाहेकका अन्य स्थानमा पनि निर्माण गर्नुपर्ने बताउनुभयो ।

पोखरा रङ्गशालाभित्रको आर्चरी खेल मैदानमा विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता हुँदै आएका छन् । यही मैदानमा विसं २०७६ मा यहाँ १३ औँ दक्षिण एशियाली खेलकुद आयोजना गरिएको थियो । यसैगरी गत वर्ष सम्पन्न नवौँ राष्ट्रिय खेलकुदमा आर्चरीको प्रतिस्पर्धा पोखरामा भएको थियो । सो प्रतियोगितामा गण्डकी प्रदेश सर्वाधिक पदक जितेर च्याम्पियन बनेको थियो । गण्डकीका म्याग्दी, मुस्ताङ र बाग्लुङ जिल्लामा यो खेल लोकप्रिय छ ।

Comments
Loading...