गण्डकी प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड पोखरामा सुरु

हिमाली आवाज । गण्डकी प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आजदेखी पोखरामा सुरु भएको छ ।‘राष्ट्रिय गरिमा र सामाजिक रुपान्तरणका लागि खेलकुद’को नारा सहित पोखरा रङ्गशालामा सञ्चालन भएको प्रतियोगितामा प्रदेशका ११ जिल्ला मध्येमा मुस्ताङ बाहेकका सबै जिल्लाको सहभागिता छ ।

खेलकुदको समुचित विकास र विस्तारका लागि मूल आधारमा रुपमा रहेका विद्यालयहरुलाई केन्द्रविन्दु बनाई खेलकुद प्रतिभाको खोजी गर्दै राष्ट्र निर्माण एवं विकासमा खेलाडीको भूमिकालाई सबल, समक्ष र प्रभावकारी बनाउने उद्धेश्यले वर्षेनी राष्ट्रपनि रनिङ शिल्ड सञ्चालन हुने गरेको छ ।

रनिङ शिल्ड प्रतियोगिताको गण्डकी प्रदेशका सभामुख कृष्णप्रसाद धितालले उद्घाटन गर्नुभयो । प्रदेश खेलकुद परिषद्को आयोजनामा प्रतियोगिता सञ्चालन भएको हो ।

प्रतियोगिताको पहिलो दिन १०० मिटर दौड छात्रतर्फ नवलपुरका तारा प्रसाद थनेत ११ मिनेट छ सेकेण्डमा दूरी पार गर्दै स्वर्ण पदक जित्न सफल हुनुभयो । यसै गरी तनहुँका भिम बहादुर थापाले रजत र तनहँुकै प्रेम बहादुर थापाले कास्य पदक जित्नुभयो ।

यसैगरी १०० मिटर दौड छात्रातर्फ भने एन्जल अधिकारी कास्कीले स्वर्ण, लक्ष्मी परियार लम्जुङले रजत र अप्सरा वि.क नवलपुरले कास्य पदक जित्नुभयो ।

यसैगरी ४०० मिटर दौड छात्रातर्फ चन्द्रकला बराल स्याङजा स्वर्ण, अनुस्का अधिकारी कास्की रजत र सोमाया कुमाल तनहुँले कास्य पदक पाउनुभयो ।

चार सय मिटर दौड छात्रतर्फ प्रकाश महतो नवलपुर प्रथम, विनित भुजेल लमजुङ द्धितीय र लमजुङकै नितेश शाही तृतीय हुँदै क्रमशः स्वर्ण, रजत र कास्य पदक जित्नुभयो ।
छात्रा तर्फ एक हजार ५०० मिटर दौडमा कास्कीका नारायणी भण्डारीले स्वर्ण, गोर्खाका एलिना नेपालीले रजत र बाग्लुङका शर्मिला विकले कास्य जित्नुभयो । छात्रतर्फ बाग्लुङका बादल कार्कीले स्वर्ण, कास्कीका तेन्ज रोकाले रजत र तनहुँका दिलिप विकले कास्य जित्नुभयो ।
यसैगरी रिले दौड छात्रतर्फ नवलपुर प्रथम, कास्की दोस्रो, र तनहुँ तेस्रो भएको छ । छात्रा तर्फ समेत नवलपुर,कास्की र तनहुँ क्रमश पहिलो दोस्रो र तेस्रो हुन सफल भएको आयोजकले जनाएको छ ।यसअघि उद्घाटन समारोहमा प्रतियोगितामा सहभागी भएका १० वटै जिल्लाका खेलाडीहरुले मार्चपास गरेका थिए ।

प्रतियोगितामा छ खेलका ७२० खेलाडी सहभागी छन् । विद्यालयस्तरिय छात्र÷छात्रा राष्ट्रपति रनिङ शिल्डमा मार्शल आर्टतर्फ उशु, तेक्वान्दो र कराते, टिम गेमतर्फ एथलेटिक्स, भलिबल र कवड्डीका खेलहरु सञ्चालन हुनेछन् ।

पोखरा रङ्गशालामा दुई दिन सम्म सञ्चालन हुने प्रतियोगिताबाट छनोट हुने खेलाडीले यही वैशाख बैशाख १५ र १६ गते काठमाडौँमा सञ्चालन हुने १३ औं राष्ट्रिय राष्ट्रपति कपमा सहभागिता जनाउने परिषद्का उपाध्यक्ष ध्वजकुमार गुरुङले जानकारी दिनुभयो ।प्रतियोगिता वैशाख १२ गतेसम्म सञ्चालन हुनेछ ।

Comments
Loading...