सगरमाथा निकेतनका शिक्षकहरुलाई ‘एकेडेमिक एक्सिलेन्स’ट्रेनिङ

हिमाली आवाज । पोखरा महानगरपालिका—९ नयाँबजारमा अवस्थित सगरमाथा निकेतन विद्यालयका शिक्षकहरुलाई आज ‘एकेडेमिक एक्सिलेन्स’ ट्रेनिङ प्रदान गरिएको छ ।

नयाँ शैक्षिक सत्र सुरु हुनुअघि विद्यालयले उत्कृष्ट शिक्षण सिकाईका लागि शिक्षकहरुलाई सो तालिम प्रदान गरेको विद्यालयका प्रिन्सिल दिलिप शर्माले जानकारी दिनुभयो ।

उहाँका अनुुसार शिक्षकलाई आफ्नो पेशाप्रति प्रतिबद्ध बनाउन र शिक्षण दक्षता हासिल गर्नका लागि ‘एकेडेमिक एक्सिलेन्स’ तालिम प्रदान गरिएको हो ।

प्रिन्सिपल शर्माले भन्नुभयो,“ शिक्षण एक कला र प्रविधि हो । शिक्षक दक्ष र निपूण भए आफ्नो ज्ञान र पाठ्यक्रमले तोकेअनुसारका विषयवस्तुलाई सहज र प्रभावकारी ढंगले विद्यार्थीमा हस्तान्तरण गर्न सक्छन् । समय समयमा हामीले यस्ता कार्यक्रमलाई निरन्तरता दिने गरेका छौँ ।”

सहभागी शिक्षकहरुलाई व्यावसायिक ट्रेनर सुवास पौडेलले शिक्षण सिकाई र उत्कृष्ट नतिजा हासिल गर्नका लागि गर्नुपर्ने विविध पक्षहरुका बारेमा प्रशिक्षण दिनुभएको थियो ।

प्रभावकारी सञ्चार,गुणस्तरीय शिक्षण व्यवस्थापन तथा व्यावसायिक सञ्चारका तत्वहरु, समस्यासँग गरी जुध्ने भन्ने बारेमा पौडेलले तालिम प्रदान गर्नुभएको थियो ।

प्रभावकारी शिक्षण, विभिन्न शिक्षण विधिको प्रयोग, शैक्षिक सामग्री छनोट, निर्माण र प्रयोगको सीप हासिल गर्न, शैक्षिक योजना निर्माण गर्न, नयॉ–नयॉ शिक्षण सिकाइ प्रविधिको प्रयोग , सामाजिक र मनोवैज्ञानिक आधारमा शिक्षण, मूल्यांकन सीपको विकास र अनुशासन कायम गर्नका लागि तालिम उपयोगी भएको सहभागीको भनाई छ ।

तालिममा विद्यालयमा अध्यापनरत ३८ जना शिक्षक शिक्षिकाहरु सहभागी थिए । विसं २०६२ सालमा स्थापना भएको सगरमाथा निकेतन विद्यालया कक्षा नर्सरीदेखी कक्षा १० अध्यापन हुँदै आएको छ । विद्यालयमा ७५० विद्यार्थी अध्ययनरत रहेको बताइन्छ ।

Comments
Loading...