हिमाली आवाज । कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिका वडा नं २ भुर्जुङखोलामा सञ्चालन भएको गाउँस्तरीय भलिबल प्रतियोगिताको उपाधि ग्रीन फोर्स युवा क्लब भुर्जुङखोलाले जितेको छ ।
माछापुच्छ्रे—२ स्थित बाजोखेतमा रहेको बिन्दवासिनी युवा क्लबले ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुदको नारा’ सहित चैते दशैँ तथा नयाँ वर्ष २०८० को अवसर पारेर यही चैत २५ गतेदेखी प्रतियोगिता आयोजना गरेको थियो ।
भलिबलमा च्याम्पियन बनेको ग्रीन फोर्सले रु ६० हजार र ट्रफी पुरस्कार पायो । यसैगरी उपविजेता पोखरा—१९ तल्लाकोटमा रहेको विन्धेश्वरी युवा क्लब भएको हो । उपविजेता विन्ध्येश्वरीले रु ३० हजार पुरस्कार प्राप्त गरेको विन्दवासिनी युवा क्लबका अध्यक्ष्ँ किशोर प्रसाद गौतमले बताउनुभयो ।
प्रतियोगिता उद्घाटन गर्दै माछापुच्छ्रे वडा नं २ का वडाध्यक्ष एवं गाउँपालिकाका प्रवक्ता गणेश आचार्यले खेलकुद विकासका लागि क्लबले गरेको योगदान प्रशसंनीय रहेको बताउनुभयो । यस्ता प्रतियोगिताका लागि वडाले सँधै साथ र सहयोग गर्ने उहाँले प्रतिवद्धता जनाउनुभयो ।
प्रतियोगिताको समापन पोखरा—१९ का वडाध्यक्ष पुष्पेन्द्र पाण्डले गर्नुभएको थियो । माछापुच्छ्रे गाउँपालिका प्रवेशद्वारमा पर्ने बाजोखेत टोलको चिनारीको लागि भलिबल प्रतियोगिता आयोजना गरिएको क्लबका सल्लाहकार पुष्पराज गौतमले बताउनुभयो । समापन समारोहको सञ्चालन राजु तामाङले गर्नु भएको थियो।
पोखरा वडा नं १९ स्थित लौसी टाकुरा खेल मैदानमा प्रतियोगिता गरिएको हो । सो खेल मैदानका लागि गण्डकी प्रदेशका निबर्तमान अर्थमन्त्री रामजी प्रसाद बरालले बजेट विनियोजन गर्नुभएको थियो । प्रदेश सरकारको बजेटमा खेल मैदान स्तरोन्नति गरिएको हो ।