पोखरामा होटल व्यवसायीको कार्यक्रममा मन्त्री किराँतीको प्रतिवद्धता : समयसापेक्ष नयाँ पर्यटन ऐन ल्याउछौँ

हिमाली आवाज । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले सरकारले नयाँ पर्यटन ऐन ल्याउने तयारी गरेको बताउनुभएको छ ।होटल व्यवसायी महासङ्घ गण्डकी प्रदेशको प्रथम महाधिवेशनको आज पोखरामा उद्घाटन गर्दै उहाँले समय सापेक्ष पर्यटन ऐन ल्याउन लागिएको बताउनुभयो ।

उहाँले भन्नुभयो,“ पर्यटन ऐन बदल्नु छ, म भन्दा जेठो पर्यटन ऐन बोकेर हिँड्दैछु । यो ऐनले केही लछारपाटो लगाउँदैन । त्यसैले यो ऐन फेर्दैछौं, अहिलेको ऐनमा धेरै कुराहरु सुधार्नुपर्नेछ । अप्ठेरो पर्ने नीति नियम फुकाउँछु । हामी अहिलेको समयसापेक्षित पर्यटन ऐन ल्याउँछौँ।”
पर्यटनमन्त्री किराँतीले पर्यटन ऐनका बारेमा पोखरामा समेत आएर पर्यटन व्यवसायी, होटल व्यवसायी लगायत सबै सरोकारवालाहरुसँग सुझाव र छलफल गरिने जानकारी दिनुभयो ।

मन्त्री किरातीले मन्त्रालयले २० वर्षे दीर्घकालीन कार्यक्रमहरु घोषणा नगरिकन आवश्यकताका आधारमा तत्कालका योजना र कार्यक्रम ल्याउने तयारी गरिएको बताउनुभयो । “घुमौ नेपाल, हेरौं प्रकृति र चिनौं संस्कृति” भन्ने नारासहित पर्यटनको प्रचार अन्तराष्ट्रिय स्तरमा समेत गर्ने योजना रहेको मन्त्री किरातीले सुनाउनुभयो ।

पोखरालाई ‘ब्राण्डिङ’ र ‘रिब्राण्डिङ’ गर्दै यहाँको प्रकृति र संस्कृतिलाई अन्र्तराष्ट्रिय बजारमा विक्री गरेर विदेशी मुद्रा आर्जन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।पर्यटनको विकास र विस्तारका लागि पर्यटनलाई उद्योगको रुपमा विकास गर्नुपर्ने उहाँले आवश्यकता औँल्याउनुभयो । बाह्य पर्यटक भित्राउने भनेको विदेशी रुपैयाँ भित्राउने विषयपनि भएकाले यसलाई गम्भीर रुपमा लिनुपर्ने उहाँले बताउनुभयो ।

पर्यटन नीति बनाउन तयार भएजस्तै अरुलेपनि आ–आफ्नो जिम्मेवारी सम्हाल्नुपर्ने बताउनुभयो । होटल व्यवसायीहरुले गुणस्तरीय सेवा प्रदान गर्नुपर्ने मन्त्री किरातीको जोड थियो ।

मन्त्री किरातीले भन्नुभयो,“म पर्यटन नीति बनाउँछु, पर्यटन वोर्डले प्रचारको काम गरोस्, प्रवद्र्धनको काम गरोस् । पर्यटन विभागले संरचनागत काम गरोस्, तपाईं व्यवसायीले पनि गुणस्तरीय सेवा दिनुपर्छ । ”

कार्यक्रममा होटल व्यवसायी महासङ्घका बरिष्ठ उपाध्यक्ष शेरबहादुर थापा (शेरु), गण्डकी प्रदेश नीति तथा योजना आयोगका सदस्य डा.सुवास अधिकारी, गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव बद्रीराज ढुंगाना, नेपाल पर्यटन वोर्ड गण्डकी प्रदेशका कार्यवाहक प्रमुख नवीन पोखरेल, होटल व्यवसायी महासंघ वागमती प्रदेश अध्यक्ष दामोदर नेपाल, होटल व्यवसायी महासंघ गण्डकीका अध्यक्ष अर्जुन चोखाल लगायतले पर्यटन क्षेत्रमा होटल व्यवसायले ठूलो योगदान गरेकाले पर्यटकलाई सेवा दिने होटललाई राज्यले समान रुपमा हेर्नुपर्नेमा जोड दिनुभएको थियो ।

गण्डकी प्रदेशमा रहेका आठ हजार होटल तथा रेष्टुरेण्ट व्यवसायीको छाता संस्था होटल व्यवसायी महासंघ गण्डकीमा जिल्लास्थित होटल व्यवसायी संघ तथा समिति आबद्ध छन् । महाधिवेशनले नया नेतृत्व चयन गर्ने महासचिव देवेन्द्र लम्सालले जानकारी दिनुभयो ।

Comments
Loading...