हिमाली आवाज । होटल व्यवसायी महासङ्घ गण्डकी प्रदेशको प्रथम अधिवेशन यही चैत २५ र २६ गते पोखरामा गरिने भएको छ । सो बारेमा जानकारी दिन आज पोखरामा आयोजित पत्रकार सम्मेलनमा महासङ्घका अध्यक्ष अर्जुन चोखालले जानकारी दिनुभयो ।
दुई दिनसम्म चल्ने महासङ्घको अधिवेशनको उद्घाटन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले गर्ने कार्यक्रम रहेको छ । अधिवेशनमा गण्डकी प्रदेश अन्तर्गत ११ जिल्लाका जिल्ला सङ्घ र स्थानीय तह एकाइका गरी एक सय २० प्रतिनिधिले सहभागिता जनाउने बताइएको छ ।
महाधिवेशन उद्घाटन कार्यक्रममा गण्डकीको कला, संस्कृति र पहिचान झल्काउने समुदायगत सांस्कृतिक झाँकीसमेत प्रस्तुत गरिने जानकारी संस्थाका महासचिव देवेन्द्र लम्सालले जानकारी दिनुभयो । गण्डकीमा ६ हजारभन्दा बढी होटल तथा रेष्टुराँ सञ्चालनमा रहेको र ५४ हजार बढीले रोजगारी प्राप्त गरेको जानकारी पनि सो अवसरमा दिइएको थियो ।
मुक्तिनाथ दर्शनका लागि आएका भारतीय र केही आन्तरिक पर्यटकको आगमनले गण्डकीको पर्यटन व्यवसाय धानिएको अध्यक्ष चोखालले बताउनुभयो । चैतको पहिलो हप्ता मुक्तिनाथ जाने पर्यटकले धवलागिरिका सम्पूर्ण होटल तथा रेष्टुराँ भरिएको जानकारी दिनुभयो ।
कोरोना तथा फ्रान्स र युक्रेन युद्धका कारण थला परेको पर्यटन व्यवसाय पछिल्लो समय खर्च धान्ने अवस्थामा पुगेको उहाँले जानकारी दिनुभयो । “यतिबेला कमाउने अवस्था त छैन, जेनतेन खर्च धानेको मात्र छ”, अध्यक्ष चोखालले भन्नुभयो, “नेपाल सरकारले पर्यटन व्यवसायीलाई बैंकको चर्को ब्याज घटाइदिए मात्र व्यवसाय अगाडि बढ्न सक्छ ।”