हिमाली आवाज । गण्डकी प्रदेश सरकारले नेपाललाई १९ वर्षमूनिको विश्वकप क्रिकेट र आइसिसि लिग टु को छनोट चरणमा पु¥याउन सफल प्रदेशका चार जना खेलाडीलाई सम्मान गरेको छ ।
सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयले आज कार्यक्रम आयोजना गरी प्रदेशबाट प्रतिनिधित्व गर्ने क्रिकेट खेलाडीलाई नगद रु ५० हजार सहित सम्मान गरेको हो ।
प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी र सामाजिक तथा स्वास्थ्यमन्त्री पञ्चराम गुरुङ लगायतले खेलाडीलाई सम्मान गर्नुभयो ।गत चैत २ गते सम्पन्न लिग टु क्रिकेटमा नेपाललाई छनोट चरणमा पु¥याउन भूमिका खेल्ने नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य करण केसी (बागलुङ) सरकारबाट सम्मानित हुनुभयो ।
यसैगरी नेपाललाई १९ वर्षमूनिको विश्वकप क्रिकेटको विश्वकपमा पु¥याउन टोलीमा रहेर खेल्ने गण्डकी प्रदेशका सुभाष भण्डारी (बागलुङ), अर्जुन कुमाल (कास्की) र दीपकराज डुम्रे (नवलपुर)लाई जनही रु ५० हजार र सम्मानपत्रले सम्मान गरिएको हो ।
कार्यक्रममा मुख्यमन्त्री अधिकारीले प्रदेशबाट सहभागी खेलाडीलाई हौसला दिदै प्रोत्साहन गर्नका लागि नगद सहित सम्मान गरिएको बताउनुभयो । उहाँले खेलाडीले मिहिनेतपूर्वक अनुशासित भएर खेल खेलेको बताउनुभयो ।
उहाँले भन्नुभयो,“ यो कम रकम हो तर हौसला र प्रोत्साहनका लागि मात्र थोरै रकमले मात्रै भएपनि सम्मान गरेका हौं । खेलाडी राष्ट्रका गहना होईनन् । गहना त टल्किन्छ र सुरक्षा गर्न लुकाएर राख्नुपर्ने हुन्छ । बरु खेलाडी त सम्पत्ति हुन् ।”
सामाजिक विकास तथा स्वास्थ्य मन्त्री पञ्चराम गुरुङले प्रदेश सरकारले अन्तराष्ट्रिय स्तरको क्रिकेट रङ्गशाला बनाउने तयारी स्वरुप जमिनको खोजी भइरहेको बताउनुभयो ।
मन्त्रालयका सचिव हेमराज सुवेदीले गण्डकीबाट सहभागी भएर देशका लागि खेल्दै अन्तर्राष्ट्रियस्तरमा नेपाललाई चिनाउन खेलाडीलाई हौसला दिन सम्मान गरिएको बताउनुभयो ।
सम्मानित राष्ट्रिय क्रिकेट खेलाडी करण केसीले सरकाले गरेको सम्मानले आगामी खेलहरुमा थप राम्रो खेल्ने हौसला मिलेको बताउनुभयो । घरेलु क्रिकेटका लागि सरकारले पूर्वाधार निर्माणका लागि लगानी गर्न उहाँले आग्रह गर्नुभयो ।
नेपाल क्रिकेट सङ्घ गण्डकीका अध्यक्ष देवेन्द्रबहादुर प्रजूले क्रिकेटको विकासका लागि पोखरा रङ्गशालाभित्रको क्रिकेट मैदानको स्तरोन्नति र वैकल्पिक क्रिकेट मैदान आवश्यक भएको बताउनुभयो ।