हिमाली आवाज । धरान फुटबल क्लब आजदेखी पोखरामा सुरु भएको ‘राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अन्तर क्लब आमन्त्रित आहा रारा गोल्डकप’ फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
‘खेलकुद विकासमा सहकार्य गरौँ, पोखरालाई खेलकुद पर्यटन सहरका रुपमा स्थापित गरौँ’ भन्ने उद्धेश्यका साथ सहारा क्लबको आयोजनामा सुरु भएको २२ औं संस्करणको प्रतियोगिताको उद्घाटन खेलमा आयोजक सहारालाई १—० गोल अन्तरले निरास बनाउँदै धरानले क्वाटरफाइनलमा स्थान बनाउन सफल भएको हो ।
खेलको पहिलो हाफको पाँचौँ मिनेटमा धरानका प्रकाश बुढाथोकीले गरेको एकमात्र गोल टोलीको जित निकाल्न पर्याप्त भयो । सहाराका भावगत चौधरीले डिबक्स बाहिर फाउल गरेपछि धरानले फ्रिकिकको अवसर प्राप्त गरेको थियो । प्राप्त मौकालाई बुढाथोकीले सदुपयोग गरी खेलमा अग्रता बनाउनुभएको हो ।
खेलमा निर्णायक गोलकर्ता बुढाथोकी खेलमा ‘म्यान अफ दी म्याच’ समेत घोषित हुनुभयो । पहिलो हाफमा एक गोलले पछि परेको सहारा खेलमा फर्कन अन्तिमसम्म प्रयास गरेपनि सफल हुन नसक्दा पहिलो खेलबाटै प्रतियोगिताबाट बाहिरिएको छ ।
प्रतियोगितामा साविक विजेता एपीएफ फुटबल क्लब सहित दस टोलीको सहभागिता छ । प्रतियोगितामा त्रिभुवन आर्मी फुटबल क्लब, धरान फुटबल क्लब, मनाङ मर्स्याङ्दी क्लब, मछिन्द्र फुटबल क्लब, चर्च ब्वाइज युनाइटेड फुटबल क्लब, भुटनिज युथ स्पोर्ट्स क्लब युएसए, नेपाल पुलिस क्लब, सङ्कटा क्लब र सहारा क्लब पोखराको सहभागिता छ ।
प्रतियोगिताको विजेताले रु १२ लाख र उपविजेताले रु छ लाख नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गर्ने सहाराका महासचिव रामजी प्रसाद अधिकारीले बताउनुभयो ।
यसैगरी प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले एक थान इलेक्ट्रिक स्कुटर तथा उत्कृष्ट, डिफेण्ड, गोलकिपर, फरवार्ड, मिडफिल्डर र प्रशिक्षकले जनही रु २५ हजारका दरले पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ । प्रतियोगिताको सर्वाधिक गोलकर्ताले रु २५ हजार र हरेक खेलको ‘म्यान अफ द म्याच’ले रु आठ हजार पुरस्कार प्राप्त गर्ने महासचिव अधिकारीले बताउनुभयो ।
प्रतियोगितामा वचत रकम क्लबबाट सञ्चालित सुर्य बहादुर के. सी. स्मृति सहारा फुटबल एकेडेमीमा खर्च गरिने छ । हाल तेश्रो व्याचको सो एकेडेमीमा १० जिल्लाका १३ जना बालकहरुले आवासीय रुपमा फुटबल खेल्दै शिक्षा प्राप्त गरिरहेका छन् । प्रतियोगिताको उद्घाटन पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले गर्नुभएको थियो ।
राष्ट्रिय खेलाडी अनन्त सम्मानित
प्रतियोगिताको उद्घाटन समारोहमा सर्वोत्कृष्ट राष्ट्रिय खेलाडी पुरस्कारबाट नेपाली राष्ट्रिय फुटबल टोलीका सेन्टर डिफेण्डर अनन्त तामाङलाई नगद रु ५० हजार पाँच सहित सम्मान गरिएको छ । पोखरा महानगर प्रमुख धनराज आचार्य, राष्ट्रिय खेलकुद परिषद्का सदस्य राजेश गुरुङ लगायतले तामाङलाई सम्मान गर्नुभयो ।
विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताहरुमा नेपालको तर्फबाट सहभागी भएर देशका लागि उपाधि सहित राम्रो खेल प्रदर्शन गरेका आधारमा तामाङलाई पुरस्कृत गरिएको सहाराले जनाएको छ ।