हिमाली आवाज । पोखरामा आज सम्पन्न दोस्रो मेयर कप राष्ट्रिय साइकल दौड प्रतियोगितामा हिक्मत विक, लक्ष्मी मगर र नयन मानन्ध विजयी हुनुभएको छ ।
पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजनामा भएको साइकल दौडमा तीन जना फरक–फरक विधाबाट विजेता बन्नुभयो । बातावरण संरक्षणसँगै इन्धन बचाउने अभियानलाई आत्मसात गरी साइकलको प्रयोग बढाउनुपर्ने सन्देश सहित सो दौड आयोजना गरिएको हो ।
प्रतियोगितामा ४० वर्षमुनिको पुरुषतर्फ हिक्मत प्रथम हुँदा सन्दीप सुन्दौली द्वितीय र सुमित गुरुङ तृतीय हुन सफल हुनुभयो । हिक्मतले निर्धारित ५० किलोमिटर दुरी तीन घण्टा १२ मिनेट, सन्दिपले तीन घण्टा २८ मिनेट ३४ सेकेण्ड र सुमितले तीन घण्टा ४८ मिनेटमा पार गर्नुभएको हो ।
यसैगरी ४० वर्षमुनिको महिलातर्फ लक्ष्मी मगरले निर्धारित ५० किलोमिटर दुरी तीन घण्टा ३९ मिनेट ४९ सेकेण्डमा पार गरी प्रथम हुन सफल हुनुभयो । यसैगरी सुधा राई द्वितीय र सोफिया विश्वकर्मा तृतीय हुनुभयो ।
प्रतियोगिताको ४० वर्षमाथिको पुरुष विधामा नयन मानन्थर प्रथम हुँदा देवबहादुर बोहोरा द्वितीय र बाबुराम विश्वकर्मा तृतीय हुनुभयो ।
मानन्धरले तीन घण्टा ५१ मिनेट १६ सेकेण्ड, बोहोराले चार घण्टा एक मिनेट २५ सेकेण्ड र विकले पाँच घण्टा आठ मिनेट २७ सेकेण्डमा निर्धारित दुरी पार गरेको पोखरा महानगरपालिका खेलकुद विकास समितिका सदस्य सचिव सुभाष खड्काले जानकारी दिनुभयो ।
प्रतियोगितामा ४० वर्षमुनिको महिला र पुरुषतर्फ प्रथम हुनेले जनही रु ३०÷३० हजार, द्वितीयले रु २०÷२० हजार र तृतीयले रु १०÷१० हजार पुरस्कार पाएका छन् ।
पोखरा–२१ कमेरेबाट सुरु भई सोही वडाको मट्टिखान, धुवारकोट, बाघखोर, भालुडाँडा हुँदै पुनः कमेरेमा आएर साइकल दौड समापन भएको थियो । यो रुट दुई फन्को लगाएपछि दुरी पार भएको थियो ।
नेपाल साइक्लिङ सङ्घ र कास्की जिल्ला साइक्लिङ सङ्घको प्राविधिक सहयोगमा प्रतियोगिता भएको हो । प्रतियोगितामा साइकल सिटी पोखराले पनि सहयोग गरेको थियो । विजयी खेलाडीहरुलाई पोखरा महानगरपालिका प्रमुख धनराज आचार्य लगायतले पुरस्कार वितरण गर्नुभयो ।