हिमाली आवाज । अगुवा महिला उद्यमी इन्दिरा बराल र लक्की क्षेत्री कार्कीले एउटै स्वरमा भन्नुभयो,‘आलोचना गर्ने भएनन् भने प्रगति गर्न सकिँदैन ।’उद्यमशीलता सुरु गर्दा महिलाले पनि यस्तो काम गर्न सक्छन् र ? भनेर कुरा काटेको स्मरण गर्दै उहाँहरुले भन्नुभयो,‘फलानो यस्तो भएर हिँडी, यस्तो गर्छे भन्ने कुरा काट्नेहरुलाई जितेर नै सफल भएको जिकिर पनि गर्नुभयो ।
पोखरा उद्योग वाणिज्य संघको आयोजनामा पोखरा प्रदर्शनी केन्द्रमा आयोजित समृद्धि स्टिल्स राष्ट्रिय औद्योगिक व्यापार मेला २०७९ को छेकोमा सोमबार आयोजना गरेको ‘सेल्फ मेड महिला’ विषयक अन्तरक्रिया कार्यक्रममा उहाँहरुले यस्तो अभिव्यक्ति दिनुभएको हो ।

इन्दिरा पोखरामा रहेर पदयात्रा पर्यटन सुरु गर्ने अगुवा महिला व्यवसायी हुनुहुन्छ भने लक्की क्षेत्री कार्की महिलाहरुलाई नै पदयात्रा पथप्रदर्शक व्यवसायमा लगाउने अगुवा महिला उद्यमी । इन्दिराले पतिसँग ४० हजार पूँजी लिएर व्यवसाय थाल्नुभएको थियो भने लक्कीहरुले २ लाख रुपैयाँबाट व्यवसाय थालेको बताउनुभयो । तर, काम थाल्दा सजिलो भने भएन । उहाँहरुको खुट्टा तान्न खोजियो । कतिसम्म भने लाएको र खाएको देखेर रिस गर्ने पनि भए । चरित्रमाथि गाइँगुइँ गर्नेहरु पनि थिए नै ! तर,उहाँहरुले खुट्टा कमाएनन् ।
‘मैले धेरै कुरा सहेँ,केही गरेर देखाउँछु भन्ने अठोट लिएँ र सफल भएँ’,इन्दिराले भन्नुभयो । लक्कीको भनाइ पनि उस्तै थियो । उहाँहले भन्नुभयो,‘कुरा त कति काटे कति काटे तर हामीलाई काट्न सकेनन् । मैले त्यो बेला कति कुरा बुझुन सकिन होला तर कसैले केही गर्छ भने उसकै कुरा काटिन्छ । तपाईं कुनै फिल्म हेर्नुहुन्छ भने त्यहाँ भिलेन पनि हुन्छ ,भिलेन भएन भने हिरो हुँदैन । त्यो बेलाको कुरा अहिले मलाई त्यस्तै लाग्छ ।’हामी तीनजना दिदी बहिनी मिलेर लेकसाइडमा गेष्ट हाउस चलाउँथ्यौँ,महिला पर्यटक आउन थालेपछि महिला पथप्रदर्शकको माग हुन थाल्यो’,हामीले त्यसमा आफैं सुदूरपश्चिम गएँ,अन्नपूर्ण बेसक्याम्प गएँ र यो व्यवसाय सुरु गरेँ ।’
पोखरा उद्योग वाणिज्य संघका सूचना अधिकृत वाशुदेव मिश्रको सहजीकरण रहेको कार्यक्रमको बिट मार्दै दुवैले भन्नुभयो,‘काम गर्दा लगन चाहिन्छ र सेवा उद्योगमा महिलाहरुको सहभागिता बढ्न्ु खुसीको कुरा हो, सम्भावना भएका क्षेत्रहरुमा अलिकता फरक काम गर्दा पनि सफल भइन्छ,सफलता सम्भव छ ।’