हिमाली आवाज । नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र) कास्कीले आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि पार्टीका तर्फबाट उम्मेदवार सिफारिस गरेको छ ।
माओवादीले मङ्सिर ४ गतेको निर्वाचनका लागि शहीद परिवार समेत रहनुभएका पोखरा–५ निवासी अनिता भुर्तेललाई प्रतिनिधिसभाको समानुपातिकतर्फ उम्मेदवार सिफारिस गरेको छ ।
तत्कालीन नेकपा(माओवादी) कास्कीका जिल्ला सहइन्चार्ज रहनुभएका अनिताका बुबा राजविक्रम र आमा सीता भुर्तेललाई विसं २०६१ वैशाख ३१ गते सुरक्षाकर्मीले पोखरा–२४ पामेबाट नियन्त्रणमा लिएर हत्या गरेको थियो ।
राजविक्रम पार्टीका जिल्ला नेता रहेपनि आमा पार्टी समर्थक र गृहणी हुनुहुन्थ्यो । सानै उमेरमा जनयुद्धमा बुबा÷आमा गुमाएपछि अनिताले सङ्घर्ष गर्दै आफू पढ्दै र बहिनीहरु र भाईको सम्पूर्ण जिम्मेवारी सम्हाल्दै आउनुभएको छ ।
बाबु÷आमा शहीद हुँदाको बेला उहाँ प्रवेशिका परीक्षा दिएर बस्नुभएको थियो । त्यसपछि परिवारमा तीन बहिनी र एक भाईको सम्पूर्ण जिम्मेवारी अनिताको काँधमा आयो ।घर व्यवहार सहित अनिता पार्टीका गतिविधिहरुमा समेत सहभागी हुनुहुन्थ्यो ।
अनिता हालै पोखरामा भएको माओवादी केन्द्र निकट अखिल नेपाल प्रगतिशिल जनस्वास्थ्यकर्मी महासङ्घको प्रथम राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय सदस्यमा चयन हुनुभएको छ ।
पार्टीले उम्मेदवार सिफारिस गरेर पठाएपछि उहाँले खुःशी व्यक्त गर्नुभयो । अनिताले हिमाली आवाजसँग भन्नुभयो,“पार्टीको महत्वपूर्ण जिम्मेवारीमा नरहेपनि पार्टीले मलाई सम्झिएर उम्मेदवार सिफारिस गरेकामा खुःशी छु । हेरौँ अन्तिम सिफारिसमा पर्न के गर्छु । त्यसमा परे त ठूलो कुरा भयो नी ।”