राष्ट्रिय स्नुकर प्रतियोगिताको उपाधि काठमाडौंका लामालाई

हिमाली आवाज । पोखरामा सञ्चालन भएको प्रथम राष्ट्रिय खुला स्नुकर प्रतियोगिता–२०७९ को उपाधि काठमाडौँका राजन लामाले जित्नुभएको छ ।

देविज स्नुकर क्लबको आयोजना तथा नेपाल विलियार्ड स्नुकर तथा पुल संघ र कास्की जिल्ला विलियार्ड स्नुकर तथा पुल संघको सहयोगमा यही भदौ १२ देखि प्रतियोगिता सञ्चालन भएको हो ।

प्रतियोगिताको मंगलबार सम्पन्न फाइनल खेलमा लामाले आफ्ना निकटतम प्रतिद्धन्दी काठमाडौंकै मीलन तामाङलाई ७–३ को स्कोरले पराजित गर्दै लामाले उपाधि सहित नगद रु एक लाख ५१ हजार १११, ट्रफी,मेडल र प्रमाणपत्र पुरस्कार पाउनुभयो ।

उपविजेता तामाङले रु ७१ हजार १११ का साथमा ट्रफी, मेडल र प्रमाणमा चित्त बुझाउनुभयो । प्रतियोगितामा सेमिफानलसम्म पुग्नुभएका काठमाडौंका अजय सुनार र पोखराका दीपेश क्षेत्रीले जनही रु १५ हजार १११ पुरस्कार पाउनुभयो ।

प्रतियोगितामा काठमाडौँ, भक्तपुर, ललितपुर, वुटवल, चितवन लगायतका स्थानबाट गरी १०६ जना खेलाडीले उपाधिका लागि प्रतिस्पर्धा गरेका थिए ।

राष्ट्रिय प्रशिक्षक सञ्जयकुमार मुल्मीले यस्ता प्रतियोगिताले खेलाडी उत्पादनमा मद्धत पुग्ने बताउनुभयो । उहाँका अनुसार दुई महिनापछि बङ्गलादेशमा हुने साफ च्याम्पियनसिपमा विजेता खेलाडीको साथमा नेपालका एक नम्बरमा पर्न सफल खेलाडी रेगन श्रेष्ठ सहभागी हुनुहुनेछ ।

नेपालको सन्दर्भमा भौगोलिक तथा आर्थिक रुपले सुहाउँदो विलियार्ड स्नुकर खेलको विकास, विस्तार र प्रवद्र्धन गर्ने उद्देश्यले पहिलोपटक राष्ट्रियस्तरको प्रतियोगिता गर्न गरिएको सङ्घका महासचिव सविन जिसीले बताउनुभयो ।

स्नुकर खेललाई विगतका पाँचौ र छैटौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा समावेश गरिएपनि त्यसपछिका संस्करणमा समावेश गरिएको छैन ।
विगतमा समावेश भएर विभिन्न पदक जितेको यस खेललाई गण्डकी प्रदेशमा हुने राष्ट्रिय प्रतियोगितामा पनि समावेश गर्न राष्ट्रिय खेलकुद परिषद्सँग माग गरिएको महासचिव जिसीले बताउनुभयो ।

Comments
Loading...