नवौँ राष्ट्रिय खेलकुद अन्तर्गत गण्डकीको साइक्लिङ खेलाडी छनोट

हिमाली आवाज । गण्डकी प्रदेशमा आगामी असोज अन्तिम साता हुने नवौँ राष्ट्रिय खेलकुदका लागि साइक्लिङ खेल विधातर्फ महिला तथा पुरुष खेलाडी छनोट भएका छन् ।

गण्डकी प्रदेश खेलकुद परिषद्ले प्रदेशस्तरीय खेलकुदमार्फत खेलाडी छनोट गरेको हो । पोखराका विभिन्न स्थानमा साइक्लिङ प्रतियोगिता मार्फत नवौं राष्ट्रिय खेलकुदमा गण्डकी प्रदेशबाट प्रतिनिधित्व गर्ने खेलाडी छनोट गरिएको कास्की जिल्ला साइक्लिङ सङ्घका अध्यक्ष एवं प्रतियोगिता संयोजक शङ्कर भण्डारीले जानकारी दिनुभयो ।

राष्ट्रिय खेलकुदका लागि महिलातर्फ प्रदेशबाट ‘क्रसकन्ट्री’ विधामा कास्कीका हिमान्सु राई, सोफिया विक, सदिक्षा भण्डारी छनोट हुन सफल हुनुभयो ।यसैगरी ‘रोड रेसमा’ निकिता परियार, बबिता परियार, स्पर्श उदास र पवित्रा परियार छनोट हुँदा ‘डाउन हिल’तर्फ जमुना थापा छनोटमा पर्नुभएको छ । छनोट प्रतियोगितामा कास्की बाहेक अन्य जिल्लाहरुले साइक्लिङमा सहभागिता जनाएका थिएनन् ।

यसैगरी पुरुषतर्फ गण्डकी प्रदेशबाट प्रतियोगिताको ‘क्रस कन्ट्री’ विधामा कास्कीका हिक्मत विक, स्याङ्जाका सन्दीप सुधौली, तनहुँका विनोद सापकोटा र कास्कीका अनिल विक छनोट हुनुभयो ।

‘डाउन हिल’तर्फ कास्कीका अजय क्षेत्री र सुजन अधिकारी छनोट हुँदा ‘रोड रेस’तर्फ कास्कीका सुमित गुरुङ र सुवास लामा छनोट भएको संयोजक भण्डारीले जानकारी दिनुभयो ।

कास्कीबाट पुरुषतर्फको ‘क्रस कन्ट्री’मा हिक्मत विक, अनिल विक, आलोकश्री खड्का र अजित बराल,‘डाउन हिल’तर्फ अजय क्षेत्री, सुजन अधिकारी र ‘रोड रेस’मा सुमित गुरुङ र सुवास लामा छनोट हुनुभएको छ ।

प्रतियोगिता क्रस कन्ट्री र रोड रेस पोखरा– १८ मेथलाङ डाँडा र डाउन हिल पोखरा– २२ स्थित रानीबन–तितेपानी क्षेत्रमा सञ्चालन भएको थियो ।

Comments
Loading...