डिफेण्डिङ च्याम्पियन पुलिसलाई पोखरामा राष्ट्रिय महिला भलिबलको उपाधि

हिमाली आवाज ।  विभागीय नेपाल पुलिस क्लबको महिला टोलीले  पोखरामा सञ्चालन भएको राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधि जितेको छ ।

पोखरा–१६ लामाचौरमा सञ्चालन भइरहेको २४ औं संस्करणको ‘लामाचौर तीज महोत्सव–२०७९ एवं लामाचौर कप राष्ट्रिय भलिबल’ प्रतियोगिताको बुधबार सम्पन्न महिलातर्फको फाइनल खेलमा पुलिसले न्यु डायमण्ड एकेडेमीलाई सोझो सेटमा पराजित गर्दै उपाधि रक्षा गर्न सफल भएको हो ।

डिफेण्डिङ च्याम्पियन पुलिसले उपाधि सहित रु एक लाख ५० हजार १११ पुरस्कार पायो भने उपविजेता न्यु डायमण्डले रु एक लाख १११ मा चित्त बुझायो । फाइनल खेलमा पुलिसले २५–१५, २५–१४ र २५–८ को अङ्कमा नतिजा आफ्नो पक्षमा पारेको हो ।

यसैगरी प्रतियोगितामा तृतीय स्थानका लागि भएको खेलमा त्रिभुवन आर्मी क्लबले गण्डकी प्रदेशको टिमलाई सोझो सेट २५–१७, २५–१७ र २५–१५ अङ्कमा हराउँदै रु  ५० हजार १११ पुरस्कार प्राप्त गर्न सफल भयो ।

प्रतियोगितामा उपाधि विजेता नेपाल पुलिसका उषा भण्डारी सर्वोत्कृष्ट खेलाडी र उत्कृष्ट प्रशिक्षक पुलिसका रुपेष विष्ट घोषित हुँदै जनही रु पाँच हजार पुरस्कार प्राप्त गर्नुभयो ।

यसैगरी उत्कृष्ट सेटर न्यु डायमण्डका प्रगती नाथ, उत्कृष्ट ब्लकर आर्मीका सोफिया पुन, उत्कृष्ट सर्भर डायमण्डका सलिना बुढा मगर, उत्कृष्ट स्पाइकर पुलिसका कामना विस्ट र उत्कृष्ट लिब्रो न्यु डायमण्डका सलिना श्रेष्ठ घोषित हुनुभयो ।

विजयी टोली तथा उत्कृष्ट खेलाडीहरुलाई गण्डकी प्रदेश प्रहरी प्रमुख डिआईजी रामदत्त जोशी, नेपाल भलिबल सङ्घका वरिष्ठ उपाध्यक्ष यामबहादुर गुरुङ, आयोजक नवआदर्श सामुदायिक विकास समाजका अध्यक्ष रेश्मा शेरचन अधिकारी लगायतले पुरस्कार वितरण गर्नुभयो ।

महिलातर्फ नेपाल पुलिस सहित त्रिभुवन आर्मी क्लब, न्यू डायमण्ड युथ स्पोर्टस् क्लब र गण्डकी प्रदेशको टोलीले सहभागिता जनाएका थिए ।

यसैगरी आज सम्पन्न पुरुषतर्फको खेलमा नेपाल पुलिस क्लब फाइनलमा प्रवेश गरेको छ । दोस्रो सेमिफाइनल खेलमा पुलिसले  त्रिभुवन आर्मीमाथि ३–१ को सेटमा जित हात पार्दै फाइनल प्रवेश गरेको हो ।

पुुलिसले २६–२४, २५–१९, १८–२५ र  २५–१९ मा जित निकाल्दै फाइनलमा गण्डकी प्रदेशसँगको भेट पक्का गर्न सफल भयो ।

पुरुषतर्फको विजेताले रु एक लाख ५० हजार १११ पुरस्कार प्राप्त गर्नेछन्  भने उपविजेताले रु एक लाख १११ र तृतीय हुने टोलीले रु  ५० हजार ११ प्राप्त गर्ने प्रतियोगिता संयोजक सुशील कुमार श्रेष्ठले जानकारी दिनुभयो ।

Comments
Loading...