नवौँ राष्ट्रिय खेलकुदः कास्कीबाट ब्याडमिन्टनका ११ खेलाडी छनोट

हिमाली आवाज ।  गण्डकी प्रदेशमा आगामी असोज २८ देखी कात्तिक ३ गतेसम्म सञ्चालन हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि कास्कीबाट ब्याडमिन्टन खेलाडी छनोट गरिएको छ ।

जिल्ला खेलकुद विकास समितिले कास्कीबाट ब्याडमिन्टन खेलका लागि सात पुरुष र चार महिला गरी ११ खेलाडी छनोट गरेको हो ।

जिल्ला खेलकुद विकास समितिका सदस्य मनिषा गुभाजु, जिल्ला व्याडमिन्टन सङ्घका उपाध्यक्ष विशाल खड्का, खेल अफिसियलहरु ज्ञानेन्द्र भण्डारी, विरबहादुर आले, ईच्छा गुरुङ र रविचन्द्र होनासहितको समितिले खेलाडी छनोट गरेको हो ।

पुरुषतर्फ राष्ट्रिय खेलाडीद्धय भूगोल गुरुङ र विधान अधिकारी सहित विशाल खड्का शशाङ्क अधिकारी, ईशान खड्का, शम्भुकुमार श्रेष्ठ र यासिक्सन गुरुङ छनोट हुनुभएको छ ।

यसैगरी महिलातर्फ यमकुमारी गुरुङ, आकृति केसी, आयुष्मा नेपाल र शितल केसी छनोट हुनुभयो । यमकुकारी राष्ट्रिय खेलाडी हुनुहुन्छ र उहाँ राष्ट्रिय वरियतामा आठौँ स्थानमा हुनुहुन्छ ।

राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि ब्याडमिन्टनमा प्रत्येक टोलीबाट पुरुषतर्फ सात र महिलातर्फ पाँच जनाले प्रतिनिधित्व गर्नेछन् ।

गण्डकी प्रदेश अन्तर्गतका जिल्लाबाट छनोट भएका खेलाडीहरुले यही भदौ १५ देखि १८ गतेसम्म हुने प्रदेशस्तरीय खेलाडी छनोट प्रतियोगितामा प्रतिस्पर्धा गर्ने प्राविधिक रविचन्द्र होनाले जानकारी दिनुभयो ।

जिल्ला खेलकुद विकास समितिले प्रदेशस्तरिय र जिल्लास्तरिय छनोट प्रक्रियाका लागि कार्यतालिका प्रकाशित गरिसकेको कास्की जिल्ला खेलकुद विकास समिति अध्यक्ष तोरण बानियाले बताउनुभयो ।

जिल्लाबाट छनोट भएका खेलाडीहरुले भदौको १५ देखि १८ गतेसम्म प्रदेशस्तरिय छनोटका लागि प्रतिस्पर्धा गर्ने कार्यतालिका छ ।

यही भदौको २५ गतेभित्रमा खेलाडी र प्रशिक्षकको नाम दर्ता र असोजको १० सम्ममा खेलगत इभेन्ट, खेल समयतालिका, खेलस्थलको जानकारी गराउने आयोजक राखेपको कार्यक्रम तालिका छ ।

राष्ट्रिय खेलकुद प्रतियोगितामा तीन विभागीय, सात प्रदेश र एनआरएनएको एक गरी ११ टिमले ३६ खेलमा ४०७ पदकका लागि प्रतिस्पर्धा गर्नेछन् ।

राष्ट्रिय खेलकुदको मुख्य आयोजनस्थल पोखरामा प्रतियोगिताको तयारी सुरु भएको छ । खेल पूर्वाधार निर्माण र खेलाडी प्रशिक्षण अहिले सञ्चालन भइरहेको हो । विभिन्न खेलको खेलाडी छनोट प्रक्रिया समेत अहिले चलिरहेको छ ।

Comments
Loading...