राष्ट्रिय खेलकुदलाई निर्वाचनले असर गर्दैन,भव्य तयारीमा लाग्नुहोस्:खेलकुदमन्त्री गहतराज

हिमाली आवाज । सरकारले आगामी मङ्सिर ४ गते प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मिति घोषणापछि त्यसअघि तय भएको नवौँ राष्ट्रिय खेलकुद स्थगन हुन सक्ने अनुमान गरिएपनि युवा तथा खेलकुदमन्त्री महेश्वरजङ्ग गहतराजले प्रतियोगिता नरोकिने स्पष्ट पार्नुभएको छ ।

आगामी असोज २८ देखी कात्तिक ३ सम्म गण्डकी प्रदेशमा हुने प्रतियोगिताको तयारीका सम्बन्धमा राष्ट्रिय खेलकुद परिषद्(राखेप)ले शनिबार साँझ पोखरामा आयोजना गरेको उच्चस्तरीय छलफल कार्यक्रममा उहाँले मतदानभन्दा एक महिनाअघिनै राष्ट्रिय खेलकुद सम्पन्न हुने र निर्वाचन कार्यतालिकाले असर नगर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो,“राष्ट्रिय खेलकुदका लागि नेपाल सरकारले बजेट निकासा गरी सकेको छ । यसका लागि सरकारको खर्च समेत भइसकेको छ । निर्वाचन आयोगसँग समेत परामर्श गरेर राष्ट्रिय खेलकुद तय गरिएकाले यसलाई निर्वाचनले कुनै पनि असर गर्दैन,आयोजक प्रदेशका हिसाबले तपाईहरु भव्य तयारीमा लाग्नुहोस् ।”

खेलकुदमन्त्री गहतराले प्रतियोगिताको तयारी, खेलाडी र खेल खेल्ने ठाउँको व्यवस्थापकीय आधारभूत दायित्व केन्द्र सरकारको रहेपनि प्रदेश सरकारले आफ्नो प्रदेशको टोली सक्षम र बढी भन्दा बढी पदक जित्ने गरी तयारीका काम गर्नुपर्ने बताउनुभयो ।गण्डकी प्रदेशमा ३९ वर्षपछि हुन लागेको राष्ट्रिय खेलकुद पोखरा र गण्डकीका लागि महत्वपूर्ण अवसर र कोभिडले प्रभावित बनेको अर्थतन्त्रलाई चलायमान बनाउन योगदान पुग्ने विश्वास उहाँको छ ।

मन्त्री गहतराजलले नवौँका लागि निर्माण गरिने भनिएका स्वीमिङ, सुटिङ लगायतका खेल पूर्वाधार विविध कारणले निर्माण गर्न नसकिएपनि राष्ट्रिय खेलकुदपछि समेत त्यसलाई अघि बढाइने प्रतिवद्धता जनाउनुभयो ।

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले राष्ट्रिय खेलकुदका दौरान आइपर्ने समस्या र कठिनाईलाई समाधान गर्नका लागि साझा संयन्त्र बनाउनुपर्ने बताउनुभयो ।उहाँले विगतका संस्करणको अनुभवलाई समेटेर सामूहित दायित्वका साथ प्रतियोगिता सफल बनाउनुपर्ने सबैको साझा दायित्व रहेको बताउनुभयो ।

पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले राष्ट्रिय खेलकुद सफल बनाउन महानगर राखेप र प्रदेशसरकारसँग सहकार्य गर्न प्रतिवद्ध रहेको बताउनुभयो ।

राखेपका सदस्य सचिव टङ्कलाल घिसिङले प्रतियोगिताको हालसम्मको तयारीका बारेमा जानकारी गराउँदै कार्यतालिका अनुसार काम अघि बढाइएको जानकारी दिनुभयो ।यही भदौ २५ गतेभित्रमा खेलाडी र प्रशिक्षकको नाम दर्ता र असोज १० सम्ममा खेलगत इभेन्ट, खेल समय तालिका, खेलस्थलको जानकारी गराइने उहाँले बताउनुभयो ।

खेलस्थल र खेलाडी आवास क्षेत्रमा सुरक्षा प्रवन्ध, स्वागत सत्कार र यातायात तथा खेलाडीहरुको हौसला बढाउनका लागि प्रदेश सरकारबाट आवश्यक काम हुने विश्वास राखेपले लिएको सदस्य सचिवले बताउनुभयो ।प्रतियोगितामा सात प्रदेश, तीन विभागीय र एनआरएनको एक गरी ११ टोलीले सहभागिता जनाउने निश्चित भएको परिषद्ले जनाएको छ । राष्ट्रिय खेलकुदका ३६ र दुई प्रदर्शनी खेलहरु छन् ।

Comments
Loading...