गण्डकी प्रदेश सरकारले घटायो सवारी करको जरिवाना,अब २० प्रतिशत तिरे पुग्ने

सविना राना , हिमाली आवाज । गण्डकी प्रदेश सरकारले सवारी करको जरिवाना शुल्क घटाएको छ । चालू आर्थिकवर्षदेखी सवारी करको जरिवानामा वृद्धि गरेर एक आर्थिक वर्ष नाघ्दा २०० प्रतिशतसम्म लिँदै आएकामा मन्त्रीपरिषद्को बैठकले घटाएको हो । अब एक आर्थिक वर्ष कटेमा २० प्रतिशत मात्र तिरे पुग्ने भएको छ ।

मन्त्रिपरिषद्को आकिस्मक बैठकले प्रदेश सवारी तथा यातायात व्यवस्थासम्बन्धी ऐन २०७६ को व्याख्या गर्दै बाधा अड्काउ फुकाउने सुविधाको प्रयोग गरेर जरिवानाको दर घटाएको हो ।

चालू वर्षको सुरुआतदेखी सवारी करमा एक आर्थिक वर्ष नाघ्दा २०० प्रतिशतसम्म जरिवाना लिइएकामा अब घटाएर २० प्रतिशतमा झारिएको सरकारका प्रवक्ता समेत रहनुभएका भौतिक पूर्वाधार शहरी विकास तथा यातायात व्यवस्थामन्त्री कुमार खड्काले बताउनुभयो ।

उहाँका अनुसार अबदेखी पहिलो आर्थिक वर्ष नाघेमा २०, दोस्रोमा ४०, तेस्रोमा ६०, चौथोमा ८० प्रतिशत र पाँचौ वर्ष नाघेमा मात्र दोब्बर जरिवाना लिइने छ । मन्त्रिपरिषद्को निर्णय प्रदेश राजपत्रमा प्रकाशित भएपछि कार्यान्वयनमा जानेछ । सरकारले जरिवाना तिरिसकेकाहरुको हकमा आगामी वर्षहरुका करमा मिलान गरिने जनाएको छ ।

Comments
Loading...