राष्ट्रियसभा निर्वाचनमा गण्डकीमा विजयी उम्मेदवारलाई प्रमाणपत्र वितरण

हिमाली आवाज । राष्ट्रियसभाको बुधबार सम्पन्न निर्वाचनमा गण्डकी प्रदेशमा विजयी गठबन्धनका उम्मेदवारलाई निर्वाचित प्रमाणपत्र वितरण गरिएको छ ।प्रदेश निर्वाचन कार्यालय पोखराले आज एक कार्यक्रम आयोजन गरी विजयी प्रमाणपत्र प्रदान गरेको हो।

निर्वाचनमा महिलातर्फ नेपाली काँग्रेसका कमला पन्त, अन्य समूहमा माओवादी केन्द्रका सुरेशकुमार आलेमगर र दलितर्फ माओवादीका भुवनबहादुर सुनार विजयी हुनुभएको थियो ।

विजयी तीनै जना उम्मेदवारहरुलाई गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल र निर्वाचन अधिकृत जिल्ला न्यायाधीश श्रीकृष्ण भट्टराईले प्रमाणपत्र वितरण तथा माला र खादा लगाएर सम्मान गर्नुभएको थियो ।

कार्यक्रममा मुख्यमन्त्री पोखरेलले नेपालीले देश र प्रदेशको समृद्धिका लागि कार्यक्रमका आधारमा सत्ता पक्ष र प्रतिपक्षी दल एकै ठाउँमा रहनुपर्ने बताउनुभएको छ ।
उहाँले प्रदेशलाई अब्बल बनाउन राजनीतिक दल र नेतृत्वकाबीचमा व्यक्तिगत र व्वहारमा मिठासपूर्ण सम्बन्ध आवश्यक रहेको उल्लेख गर्नुभयो ।
उहाँले भन्नुभयो,“लोकतान्त्रिक मुल्य र मान्यतालाई कार्यरुप बनाउँदै नेतृत्वकाबीचमा व्यक्तिगत मिठासपूर्ण व्यवहार हुन सके राम्रो सन्देश जानेछ । गण्डकी प्रदेशमा हिजोको परम्परा प्रतिपक्षी दलले निभाउने विश्वास गरेको छु ।”

सो अवसरमा मुख्यमन्त्री पोखरेलले निर्वाचित सदस्यहरुले संविधानको व्यवस्था अनुसार छ वर्षको कार्यकालमा देश, सरकार र जनताको हितमा काम गर्न आग्रह गर्नुभयो ।
उहाँले निर्वाचन सम्पन्न गर्न महत्वपूर्ण भूमिका निभाउने जिल्ला न्यायाधीश, लोकतान्त्रिक अभ्यासको रुपपा अघि बढाउने राजनीतिक दल, सुरक्षाकर्मी, प्रदेशसभा सदस्यहरुलाई धन्यवाद व्यक्त गर्नुभयो ।

कार्यक्रममा नेपाली काँग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्मा, नेकपा एमालेका प्रदेश अध्यक्ष नवराज शर्मा र माओवादी केन्द्र गण्डकीका अध्यक्ष गायत्री गुरुङ र प्रदेश निर्वाचन कार्यालय प्रमुख हुमनाथ पराजुलीले निर्वाचित सदस्यहरुले देश, जनता र राष्ट्रको हितलाई सोचेर काम गर्ने विश्वास व्यक्त गर्नुभयो ।

Comments
Loading...