हिमाली आवाज । गण्डकी प्रदेश सरकारले विविध कार्यक्रम गरी संविधान दिवस मनाइएको छ । प्रदेश मुल समारोह समितिले मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालयमै आइतबार विषेश समारोह गरेको छ । यसअघि मुख्य न्यायाधिवक्ताको कार्यालय गण्डकीले वृहत अन्तक्रिया गरेको छ ।
आइतबार आयोजित कार्यक्रममा प्रदेश प्रमुख पृथ्वीमान गुरुङले वर्तमान संविधानले सामन्ती, निरंकुश र केन्द्रीकृत राज्य व्यवस्थाद्वारा सिर्जित सबै प्रकारका विभेद र उत्पीडनको अन्त्य गर्दै जातीय, भाषिक, धार्मिक, सांस्कृतिक तथा भौगोलिक विविधतायुक्त नेपाली समाजलाई बृहत् राष्ट्रिय एकताको सूत्रमा आबद्ध गरेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘यस संविधान अन्तर्गत नेपालको राष्ट्रिय सार्वभौमसत्ता नेपाली जनतामा निहित भएको छ र जनता राज्यशक्तिको स्रोत भएका छन् ।’
यति बेला मुलुक, नयाँ संविधानले मार्गनिर्देश गरेका अभिभाराहरूलाई आत्मसात गर्दै समृद्ध राष्ट्र निर्माण गर्ने दिशामा अगाडि बढेको उहाँले बताउनुभयो । संविधान बमोजिम संघ, प्रदेश र स्थानीय तहका व्यवस्थापिका तथा सरकारहरू आ–आफ्नो संवैधानिक कार्यभारहरू पूरा गर्न क्रियाशील रहेको उहाँको भनाई थियो ।
मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले लामो समयको संघर्षबाट प्राप्त उपलब्धिको रक्षाका लागि सबै पक्ष उत्तिकै जिम्मेवारी हुनुपर्ने भनाइ राख्नुभयो । सशस्त्र द्वन्द्वमा लागेको माओवादीलाई शान्ति प्रक्रियामा ल्याउने तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको स्मरण गर्दै त्यसमा सघाउने माओवादी अध्यक्ष प्रचण्डलाई धन्यवाद दिनुभयो ।
अहिले मुलुकमा लागु भएको संघीयतालाई सुदृढ गर्न राजनीतिक दल, नागरिक समाज, पत्रकार सबैको सहयोग आवश्यक रहेको भन्दै उहाँले लोकतान्त्रिक प्रणालीमा सरकारले सुझाव र सल्लाह सँधै ग्रहण गर्ने भनाइ राख्नुभयो । सरकारको नीति तथा कार्यक्रम र बजेट कार्यान्वयनमा जिम्मेवार भएर अगाडि बढ्न कर्मचारी वर्गलाई उहाँले आग्रह गर्नुभयो ।
गण्डकी प्रदेश सभाका सभामुख नेत्रनाथ अधिकारीले सामन्ती, एकात्मक शासन व्यवस्था अन्त्य भए पनि त्यसका अवशेषहरु बाँकी नै रहेका बताउँदै संघले आवश्यक कानुन नबनाइदिएका कारण अझै पनि प्रदेशमा कतिपय कानुन बनाउन नपाइएको भनाइ उहाँको थियो ।
प्रमुख सचिव डा. दामोदर रेग्मीले स्वागत गरेको कार्यक्रम सञ्चालन प्रदेश सचिव इन्दु घिमिरेले गर्नुभयो । कार्यक्रममा मन्त्रीहरु, मुख्यमन्त्रीका सल्लाहकार, सरकारका अन्य पदाधिकारी, प्रदेश सचिव, कास्कीका प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकाय प्रमुख लगायत सहभागी रहनुभएको थियो ।