हिमाली आवाज । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले बजेट कार्यक्रम सदनबाट पारित भएपछि सरकारले पूर्णता प्राप्त गर्ने र कार्यविभाजन गरिने बताउनुभयो ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा उहाँले दलहरुकाबीच मन्त्रालयलाई लिएर भइरहेको विवादबाट अहिलेको गठबन्धन नटुटने उहाँले स्पष्ट पार्नुभयो ।
सरकारले केही दिनमै सदन शुरु गरेर बजेटमाथिको छलफल शुरु गर्ने तयारी गरेको र यही महिनाभित्रमा बजेट पारित गरेपछि सरकारले पूर्णता पाउने मुख्यमन्त्रीले बताउनुभयो ।
अप्ठ्यारो अवस्थामा गठन भएको वर्तमान सरकारले सबैको साथ र सहयोग लिएर समृद्धिको जनचाहना पूरा गर्ने उहाँले प्रतिवद्धता व्यक्त गर्नुभयो ।
सरकारका प्रवक्ता एवं शिक्षा संस्कृति विज्ञान प्रविधि तथा सामाजिक विकासमन्त्री कुमार खड्काले सरकार गठनको छोटो समयमा नीति कार्यक्रम र बजेट ल्याइएको बताउँदै आगामी यसै साता सदन सञ्चालन गरेर बजेट कार्यक्रममाथि छलफल शुरु गरिने जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो,“हामीले सबै डकुमेन्ट तयार गरिसकेका छौँ, अब सदन बोलाएर बजेटमाथिको छलफल शुरु गरी असार ३० गते निर्णयार्थ पेश गर्ने तयारीमा छौँ ।”
सरकारले लोककल्याणकारी कामका लागि बजेट रकमान्तर गरेपनि बजेट दुरुपयोग नहोस् भन्नेमा सचेत रहेको भन्दै सम्बन्धित मन्त्रालय एवं कार्यालयका प्रमुखहरुलाई नियमभन्दा बाहिर नजान निर्देशन दिइएको मन्त्री खड्काले स्पष्ट पार्नुभयो ।
मन्त्रिपरिषद्ले हालै गरेका निर्णयहरुका बारेमा जानकारी दिँदै प्रवक्ता खड्काले मन्त्रिपरिषद्का सदस्य र सचिवहरुको आवास व्यवस्थापनका लागि मापदण्ड तय गर्न भौतिक पूर्वाधार मन्त्रालयको शहरी विकास शाखालाई दिने निर्णय गरेको जानकारी दिनुभयो ।
यसैगरी प्रदेश सरकारले खरीद गर्ने सवारी साधनमा एकरुपता कायम गर्दै मितव्यतिता काम गर्ने र मुल्य र क्षमतामा एकरुपता ल्याउने निर्णय गरिएको उहाँले जानकारी दिनुभयो ।
मन्त्रिपरिषद् बैठकले विपद् व्यवस्थापन र द्रुतप्रतिकार्यका लागि स्वास्थ्यमन्त्री मधुमाया अधिकारीको संयोजकत्वमा ‘टास्क फोर्स’ गठन गर्ने निर्णय गरेको छ । सो समितिमा विनाविभागीय मन्त्रीद्धय हरिशरण आचार्य र दीपक मनाङे, कानून सचिव सदस्य तथा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपसचिव रामेश्वर अर्याल सदस्य सचिव रहनुभएको छ ।
मुख्यमन्त्रीको राजनीतिक सल्लाहकारमा नवलपरासी पुलिङटार गाउँपालिका–३ निवासी खड्गबहादुर कुमाललाई नियुक्त गरिएको प्रवक्ता खड्काले जानकार िदिनुभयो । उहाँले राज्यमन्त्री सरह सुविधा प्राप्त गर्ने बताइएको छ ।
यसैगरी मुख्यमन्त्रीको प्रेस संयोजकमा पुतलीबजार नगरपालिका–१३ स्याङ्जा निवासी भरत कोइरालालाई नियुक्त गरिएको छ । मन्त्रिपरिषद्ले स्वास्थ्य निर्देशनालयको निर्देशकमा डा खिमबहादुर खड्कालाई नियुक्तिको निर्णय गरेको सरकारका प्रवक्ता खड्काले जानकारी दिनुभयो ।