पत्रकार महासङ्घ गण्डकी प्रदेश समितिको कार्यालय भवन उद्घाटन

हिमाली आवाज । नेपाल पत्रकार महासङ्घ गण्डकी प्रदेश समितिको नवनिर्मित कार्यालय भवनको आज उद्घाटन गरिएको छ ।
पत्रकार महासङ्घका केन्द्रीय अध्यक्ष गोविन्द आचार्यले पोखरा महानगरपालिका–७ रत्नचोकमा कास्की शाखाको भवनको माथिल्लो तलामा निर्मित प्रदेश समितिको कार्यालय भवनको उद्घाटन गर्नुभएको हो ।

गण्डकी प्रदेश सरकारको रु १४ लाख ५० हजार, प्रतिनिधिसभा सांसद विद्या भट्टराईको निर्वाचन क्षेत्र पूर्वाधार विकास कोषको रु १० लाख तथा अन्य सहयोगी दाताको आर्थिक सहयोग गरी कूल रु ३५ लाख लागतमा कार्यालय भवन निर्माण गरिएको निर्माण समितिका संयोजक एवं महासङ्घका सचिव इन्द्र पौडेलले जानकारी दिनुभयो ।

भवन उद्घाटन गर्दै अध्यक्ष आचार्यले महासङ्घको नीति कार्यान्वयनका लागि महासङ्घमा साझा नेतृत्व आवश्यक रहेको बताउनुभयो ।
महासङ्घलाई पत्रकारको साझा संस्थाका रुपमा विकास गर्दै सबै अटाउने गरी नेतृत्व चयन गर्नुपर्नेमा जोड दिँदै उहाँले पत्रकारहरुलाई नागरिक हितका लागि सदैव आवाज उठाउन आग्रह गर्नुभयो ।

पत्रकार महासङ्घको इतिहासमा पहिलोपटक केन्द्र, प्रदेश र जिल्ला शाखाको एकैपटक प्रत्यक्ष निर्वाचन प्रणाली मार्फत नेतृत्व चयन गरिने जानकारी दिँदै उहाँले आगामी चैत १६ गते स्थापना दिवसका दिन पदभार हस्तान्तरण गर्ने गरी निर्वाचन कार्यक्रम प्रकाशित गर्न निर्वाचन समितिलाई अनुरोध गरिएको जानकारी दिनुभयो ।

अध्यक्ष आचार्यले संस्थाको गरिमा बचाउन राजनीतिकरण अन्त्य हुनुपर्ने आवश्यकता औँल्याउदै हालको कार्य समितिले निर्वाचित जनप्रतिनिधि र राजनीतिक पार्टीको पदाधिकारीमा रहेकाहरुलाई महासङ्घको सदस्यबाट हटाएको बताउनुभयो ।

प्रतिनिधिसभा सांसद विद्या भट्टराईले लोकतान्त्रिक मान्यतालाई संस्थागत गर्न राज्य सञ्चालकहरुबाट कन्जुस्याई हुने गरेको भन्दै त्यसका विरुद्ध पत्रकारहरुले आवाज उठाउनुपर्ने बताउँदै लोकतन्त्रका मान्यतालाई जनताको बीचमा पु¥याउने दायित्व समेत सञ्चारजगत्को रहेको स्पष्ट पार्नुभयो ।

महासङ्घ प्रदेश समितिका अध्यक्ष त्रिभुवन पौडेलले प्रदेश समितिको संस्थापक अध्यक्षको जिम्मेवारी लिँदै कार्यालय भवन बनाउने सङ्कल्प लिएकामा त्यसलाई पूरा गर्न सफल भएको बताउँदै आउने नेतृत्वले भवनको सदुपयोग गर्न आग्रह गर्नुभयो ।

कार्यक्रममा नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्यद्धय रामकृष्ण ज्ञवाली, नविन कुुँइकेल, प्रदेश समितिका उपाध्यक्ष शान्ति गुरुङ, महासचिव गणेश पौडेल लगायतले कास्की शाखा लगायत सबैको साथ र सहयोगबाट कार्यालय भवन निर्माण सम्पन्न भएको बताउनुभएको थियोे ।

कार्यक्रममा भवन निर्माणका लागि आर्थिक सहयोग गर्ने दाता तथा निर्माण कार्यमा खटिने प्रदेश समितिका पदाधिकारीहरुलाई प्रशंसापत्रबाट सम्मान गरिएको थियो ।

Comments
Loading...