काठमाडौं । राष्ट्रिय गौरवका आयोजनाहरूको प्रगति सन्तोषजनक नरहेको अवस्थामा कास्कीको पोखरामा निर्माणाधीन पोखरा अन्तरराष्ट्रिय विमानस्थल भने तोकिएकै समयमा सम्पन्न हुने भएको छ ।
अहिले भइरहेको कामहरूको प्रगतिको आधार हेर्दा भैरहवा अन्तरराष्ट्रिय विमानस्थलभन्दा पहिले नै पोखरा अन्तरराष्ट्रिय विमानस्थल सञ्चालन हुने देखिएको छ ।
विमानस्थल आयोजनाका अनुसार विमानस्थलको ६८ प्रतिशत भौतिक प्रगति सम्पन्न भएको छ । यस्तै करीब ५१ प्रतिशत वित्तीय प्रगति भएको छ । तोकिएको काम सम्पन्न भएपछि मात्रै ठेकेदारलाई पूरा भुक्तानी दिइने भएकाले वित्तीय प्रगति कम देखिएको तर त्यो भुक्तानी गर्दा स्वतः वित्तीय प्रगति पनि माथि पुग्ने विमानस्थल आयोजनाले जानकारी दिएको छ ।
विमानस्थलमा लाइटिङलगायत उपकरण जडानको काम मात्र बाँकी छ । विमानस्थलमा जडान हुने ५० प्रतिशतभन्दा बढी उपकरण आइसकेको र बाँकी पनि केही समयभित्रै आइसक्नेछन् । ती सामग्री आएको ६ महीनाभित्रै जडानको काम सकिने विमानस्थल आयोजना प्रमुख इन्जिनीयर विनेश मुनकर्मीले जानकारी दिनुभयो ।
यसैगरी भैरहवा विमानस्थल सन् २०२० सम्ममा सम्पन्न हुने भनिएपनि सन् २०२१ लाग्दा समेत पूरा भएको छैन । सो विमानस्थ्लको अहिलेको कामको गति हेर्दा पोखरा विमानस्थलनै छिटो सञ्चालनमा आउने देखिएको छ । यो समाचार आजको आर्थिक अभियान दैनिकमा छ ।