काठमाडौँ,२० असोज । प्रदेशसभाको निर्वाचनको झन्डै तीन वर्षपछि प्रदेश ५ को प्रदेश सभाले प्रदेशको नाम लुम्बिनी र स्थायी राजधानी देउखुरी कायम गरेको छ ।
प्रदेश सभाको मंगलबारको बैठकमा भएको मतदानमा सरकारले सभामा प्रस्तुत गरेको प्रस्ताव पारित भएको हो । दाङको राप्ती गाउँपालिका र गढवा गाउँपालिका तथा अर्घाखाँचीको सितगंगा नगरपालिकाले ओगटेको राप्ती नदीले चर्चेको किनारको भाग राप्ती उपत्यका देउखुरीलाई प्रदेशको स्थायी राजधानी बनाउन प्रस्ताव गरिएको थियो।
![](https://www.himaliawaj.com/wp-content/uploads/2024/04/09-Janhitma-Jari-Jaruri-Suchana-B-1700-x250-Dadelo.jpg)
त्यस्तै, शान्तिका अग्रदूत गौतमबुद्ध जन्मस्थल लुम्बिनीको महत्त्वलाई हृदयंगम गर्दै साझा चिनारीका रुपमा प्रदेशको नाम लुम्बिनी प्रदेश नामकरण गरियोस् भन्ने प्रस्ताव सदनसमक्ष प्रस्तुत गरिएको थियो।प्रदेश ५ को राजधानी देउखुरी राख्ने प्रस्तावमा ६९ मत परेको थियो। विपक्षमा १३ मत परेको थियो।
प्रदेश ५ का ८७ सांसदमध्ये ८२ जना मतदानमा सहभागी थिए । हालसम्म प्रदेश नं १ र प्रदेश नं २ ले प्रदेशको नाम र राजधानी तोक्न सकेका छैनन् ।