काठमाडौं,२१ साउन। सरकारले यातायातका साधन सञ्चालनमा फेरि जोरबिजोर प्रणाली लागू गर्ने निर्णय गरेको छ ।
कोरोनाभाइरस संक्रमितको संख्या बढ्दै गएपछि जोखिम न्यूनीकरणका लागि भन्दै सरकारले साउन २२ गतेदेखी पुनः जोरबिजोर प्रणाली जागू गर्ने निर्णय गरेको हो ।
गृह मन्त्रालयले आज विज्ञप्ती जारी गरी उपत्यका र २०० भन्दा बढी सक्रिय संक्रमित भएका जिल्लामा निजी तथा सार्वजनिक सवारी साधनमा जोरबिजोर प्रणाली लागू भएको जनाएको छ ।
त्यसैगरी कोरोना संक्रमितको २०० भन्दा बढी सक्रिय केस भएका जिल्लाका शहरी क्षेत्रमा समेत राति ९ः०० बजेदेखी विहान ५ः०० बजेसम्म आवागमन बन्द हुने जनाइएको छ ।
लामो लकडाउनपछि मन्त्रिपरिषद्को गत जेठ २८ गतेको बैठकले एक जिल्लाभित्र मात्रै चल्न पाउने गरी निजी सवारीसाधन जोर–बिजोरका आधारमा सञ्चालन गर्न दिने निर्णय गरेको थियो ।
त्यसको झण्डै एक महिनापछि सरकारले असार अन्तिम साता छोटो दुरीका सार्वजनिक सवारी साधन चल्न दिने निर्णय गरेको थियो । कोभिड–१९ सँगै सरकारले आह्वान गरेको लकडाउनका कारण गत चैत ११ गतेदेखि देशभरका सम्पूर्ण सार्वजनिक यातायात बन्द भएका थिए ।