भनिन्छ,
एक वर्षको समृद्धिको लागि बालीनाली लगाउ,
दश वर्षको समृद्धिको लागि रुख विरुवा रोप,
जुगौंजुगको समृद्धिको लागी बालबालिकामा लगानी गर…
शायद यहीँ उक्तिलाई ध्यानमा राख्दै र बालबालिका भनेका भोलिका कर्णधार हुन भन्ने निबन्ध कन्ठस्थ पार्दै बितेको बाल्यकालको प्रभावका कारण बालबालिका छुट्टै विशेषताका पात्र बने । कहिले आमा,कहिले गुरु, कहिले साथी त कहिले उनीहरुलाई नै सिंहाशनमा पु¥याएर व्यक्तिगत स्वार्थ बिना देशको नागरिक निर्माण कार्यमा एउटा इट्टा थप्न खोज्ने प्रयास शायद सबै अभिभावकबाट भयो र त्यसैमा प्रयासरत २०७६ सालको एस.ई.ई. ब्याचको एउटा विद्यार्थीको अभिभावक म…. ।
यस बर्षको एस.ई.ई परीक्षाको नतिजाको बारेमा सामाजिक सञ्जालमा गरिएको विभिन्न टिका टिप्पणीको विषयलाई लिएर केही लेख्न मन लाग्यो र नलेखिरहन पनि सकिन ।कुनै पनि विद्यार्थीको अध्ययनको प्रथम अध्यायको समाप्ति,उच्च शिक्षाको लागि मार्ग प्रशस्त गराउने माध्यम हो एस.ई.ई.। विगतमा, एस. एल. सि. लाई फलामे ढोका मानेर जुन त्रासमा सिमित विद्यार्थी मात्र सफल हुन्थे, बाहिर छाडिएका विद्यार्थीको भविष्य एक बर्ष पछाडी धकेलिएको हुन्थ्यो ।
एक बर्ष सम्म समयमा आएको उतारचढावले सबै विद्यार्थीको उर्जालाई सञ्चीत गरिरहन पक्कै पनि असम्भव थियोे त्यसैले समयको मागसँगै परीक्षा प्रणालीमा फरकपन आउदै गयो । ९ र १० कक्षाको कोर्सबाट १० कक्षाको मात्र पाठ्यक्रम हुँदै मार्किङ सिस्टम बाट ग्रेडिङ सिस्टम बन्यो जसले परीक्षा प्रणालीमा परिवर्तन ल्यायो । नेपालको संविधान, यस अन्तर्गत बनेका अन्य कानुन र अन्तर्राष्ट्रिय कानूनद्वारा बालबालिकाको हक र अधिकारको सुनिश्चितता प्रदान गरी यसलाई कार्यान्वयनमा लैजाँदै गर्दा समाजको सबैभन्दा सम्वेदनशील बर्ग बालबालिकाको मनोबिज्ञानलाई बझ्ने जुन परिवर्तन भयो त्यसले मुलुकलाई पक्कै पनि सकारात्मक दिशा निर्देश गरेको छ भन्ने हामी सबैले स्वीकारेका छौं ।
गत चैत ६ गतेदेखि हुने भनिएको एस.ई. ई. परीक्षा दिन सबै परीक्षार्थीले आफुलाई तम्तयार गराईसकेका थिए । केवल परीक्षाको अघिल्लो रात आफुलाई आठ घन्टा तनावमुक्त आराम दिएर आजसम्मको आर्जित ज्ञान पस्कन आतुर थिए विद्यार्थी । तर,विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरस(कोभिड(१९) का कारण अघिल्लो साझ परीक्षा स्थगित भयो। विश्व भर फैलिएको भाइरसबाट बच्ने एउटामात्र अचुक हतियार बन्यो भौतिक दूरी । स्वस्थ्य तनभित्र स्वस्थ्य मन हुन्छ, स्वस्थ्य मनभित्र मात्रै असीमित ज्ञान हुन्छ भने जस्तै सबैभन्दा महत्वपूर्ण चासोको विषय स्वास्थ्य रह्यो । आमरूपमा चासोको विषय एकातिर अर्कोतिर विद्यार्थीहरुका थुप्रै दिनहरू परीक्षाकै तनावमा बिते।
लामो समय पश्चात् पनि अवस्था सामान्य नभएकाले परीक्षा सञ्चालन गर्न असमर्थ भएपछि उच्च शिक्षाको ढोका खोल्न फरक परीक्षा प्रणालीको एकमात्र विकल्प रह्यो। विद्यार्थी आफैंले परीक्षा दिन नचाहेको होईन यसमा न दोष शिक्षकको,न अभिभावकको, न विद्यार्थी स्वयंको तर आज नतिजा आउँदा विद्यार्थी, शिक्षक र अभिभावकलाई बौद्धिक वर्गहरुबाट समेत नकारात्मक टिका टिप्पणी भएको पाईयो। विद्यार्थीले बिना परीक्षा पास गर्यो भनेर भन्ने हो भने ती विद्यार्थी कक्षा १ देखि १० सम्म परीक्षानै दिएर पास भए होलान्,अघिल्लो दिन परीक्षा दिनको लागि पूर्वतयारी गरेकोले मात्रै नतिजा प्राप्त गरे होलान् रह्यो कुरा शिक्षकद्वारा मनपरी अङ्क दिईयो भन्ने, मुल्यांकनका दुईवटा तरिका हुन्छन आन्तरिक र बाह्य ।
आन्तरिकले व्यक्तिको आनीबानी,नियमित व्यवहार देखी लिएर सर्वाङ्गीण पक्षको अनुगमन गर्दछ र बाह्यमा यी सबैकुरा गौण रहन्छ ।आन्तरिक र बाह्य मुल्यांकन अध्ययनको जुनसुकै तहमा हुन्छ यो सबैलाई अवगत होला र यसमा पनि चित्त नबुझे सुझाव दिन सकिन्छ । आफूलाई ज्ञानले सिञ्चित गर्ने शिक्षकलाई र शिक्षण पेशालाई नै अपमानित बनाउने गरी गाली गर्नु होच्याउनु कत्तिको बुद्धिमानी होला ? अर्को कुरा अभिभावकले सामाजिक सञ्जालमा राखेको पोस्टलेपनि निकै चर्चा पायो ।
परीक्षा नदिई पास गर्ने अनि बधाई दिने म निर्लज्ज अभिभावक यो देशको नागरिक भनेर व्यङ्ग हानेको देख्दा व्यङ्गकारको बौद्धिकता देखेर दया लागेर आयो। त्यो व्यङ्गले बालबालिकाको कलिलो मस्तिष्कमा असर पर्छ कि पर्दैन? त्यो शिक्षकले दिएको विद्याको अपमान हुन्छ कि हुदैन ? र त्यो अभिभावकको लगानी खेर जान्छ कि जादैन ??? आफ्नो दैनिकीलाई सामाजिक सञ्जालमा सार्वजनिक गर्ने, जन्म मृत्यु र हर उत्सवलाई फेसबुक र ट्विटरसङ साटने यो समाजमा आफ्ना बालबालिकाको मनोबल बढाउन अभिभावकले बाडेको थोरै खुशी प्रति आपत्ति किन ???
आजको अवस्थामा शक्तिशाली रास्ट्रपनि सुक्ष्म भाइरससँग हारेको छ,महामारीले देशको अर्थतन्त्र पछाडी परेको छ, शैक्षिक सत्र एक बर्ष पछाडी धकेलिने सम्भावना छ, कोरानाको प्रभावको नकारात्मक असर सबैलाई परेको छ । यसैबीचमा भएको एस. ई.ई.को नतिजा प्रति गरिएको नकारात्मक टिप्पणीले विद्यार्थीको मानसिकतामा हर्ष न विस्मात भरिदिएको छ । यदि यो गलत मानसिकतालाई नबदल्ने हो भने बालबालिकाहरु आफुलाई २०७६ को एसइइी व्याच भनी चिनाउन हिच्किचाउनेछन् । बाल हिंसाले जरो गाडनेछ ।
त्यसैल अप्ठ्यारो परिस्थिति झेलेर उत्रनुपरेको यी निर्दोष बालबालिकालाई र बालबालिकासँग प्रत्यक्ष सरोकार राख्ने कसैलाई मानसिक तनाव नदिउ, सके सकारात्मक सुझाव दिउ नसके बालबालिका प्रति पुर्वाग्राही नबनौ।
बाल हिंसा बन्द गरौं,
बाल मनोविज्ञान बुझौं,
बालमैत्री शासनको परिपालना गरौं ।