एजेन्सी । रुसले विश्वमा कोरोना भाइरसको भ्याक्सिनलाई स्वीकृति दिने पहिलो देशका रुपमा आफुलाई उभ्याउने गरी तयारी गरिरहेको छ, अधिकारीहरुकाअनुसार दुई साताभित्रै भ्याक्सिनले आधिकारिकता पाउनेगरी तयारी गरिएको छ ।
यद्यपि भ्याक्सिनको सुरक्षा, प्रभावकारिता र रुसले यसको विकासका चरणहरु पार गरे–नगरेको विषयमा अझै चासो कायम रहेको अमेरिकी सञ्चारमाध्यम सिएनएनले जनाएको छ । रुसी अधिकारीहरुले सिएनएनलाई बताएअनुसार उनीहरुले अगस्ट १० वा त्यसभन्दा अघि भ्याक्सिनलाई स्वीकृति दिलाउनेगरी काम अघि बढाइरहेका छन्, मस्कोस्थित गामेल्या इन्स्टिच्युटले यस भ्याक्सिनको विकास गरेको हो ।
उनीहरुका अनुसार यो भ्याक्सिन सर्वसाधारणको प्रयोगका लागि स्वीकृत हुनेछ र पहिलो प्राथमिकता स्वास्थकर्मीलाई दिइनेछ ।
‘यो स्पुटनिक मुभमेन्ट हो,’ १९५७ मा सोभियत युनियनले सार्वजनिक गरेको विश्वकै पहिलो स्याटेलाइटको प्रसङ्ग झिक्दै रुसको सोभरेन वेल्थ फन्डका प्रमुख किरिल डेमीट्रिभले भने । यस निकायले रुसी भ्याक्सिनका लागि लगानी गरिरहेको छ । ‘स्पुटनिकको आवाज सुनेर अमेरिकीहरु आश्चर्यचकित भएका थिए । अहिले यो भ्याक्सिनलाई लिएर त्यस्तै भएको छ । रुसले सबैभन्दा पहिले बनाउनेछ,’ उनले थपे ।
यद्यपि,रुसले आफ्नो भ्याक्सिन परीक्षणबारे कुनै वैज्ञानिक तथ्य सार्वजनिक गरेको छैन र अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले पनि यसको सुरक्षा र प्रभावकारिताबारे चासो राखिरहेका छन् । आलोचकहरुले रुसी राष्ट्रपतिको कार्यालय अर्थात् क्रेमलिनको दबाबका कारण भ्याक्सिन चाँडै बाहिर ल्याउन खोजिएको आरोप लगाएका छन्, राष्ट्रपति भ्लादिमिर पुटिनले रुसलाई विश्वको विज्ञान शक्तिका रुपमा चित्रित गराउन खोजेका छन् । कतिपय आलोचकहरुले यस भ्याक्सिनको मानवीय परीक्षण पूरा नभएको आरोप समेत लगाएका छन् ।
संसारभर अहिले दर्जनौं भ्याक्सिनको परीक्षण चलिरहेको छ र थोरै भ्याक्सिनले मात्रै ठूलो संख्यामा परीक्षण गरिरहेका छन्, धेरैजसो भ्याक्सिन विकासकर्ताहरुले भ्याक्सिनलाई स्वीकृति दिनुपूर्व गर्नुपर्ने धेरै काम बाँकी रहने भन्दै सतर्क समेत गराएका छन् ।